अघोषित लोडसेडिङ हटाउन तीन दिने ‘अल्टिमेटम’



गुल्मी : दिनहुँ पटकपटक विद्युत सेवा अवरुद्ध भएपछि गुल्मीका स्थानियले अघोषित लोडसेडिङ हटाउनुपर्ने माग राख्दै नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई तीन दिने ‘अल्टिमेटम’ दिएका छन् । 

प्राधिकरणको लापरवाहीका कारण आम गुल्मेली जनताले नियमित विद्युत उपभोग गर्नबाट बञ्चित भएको भन्दै गुल्मी उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ गुल्मीको संयुक्त टोलीले तीन दिनभित्र विद्युत सेवा नियमित नगरिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । 

गुल्मीमा केही समययता अप्रत्याशित रुपमा विद्युत अवरुद्ध हुने गरेको छ । जसका कारण जिल्लामा रहेका साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा ठूलो समस्या उत्पन्न भएको छ । यस्तै स्थानिय उपभोक्ताले घरेलु प्रायोजनका लागि खपत गर्ने विद्युतमा समेत अवरुद्ध भएको छ । 

गुल्मीमा जिल्लाकै नदीबाट विद्युत उत्पादन भइरहेपनि विगत केही सातादेखि गुल्मीवासी नै अध्याँरोमा बस्नुपर्ने बाध्यता रहेको भन्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीप्रसाद भलामीले प्राधिकरणको वितरण शाखा प्रमुख नारायण अर्याललाई ज्ञापनपत्र बुझाएका थिए । 

वितरण शाखा प्रमुख अर्यालले भने विगतको तुलनामा विद्युत सेवा नियमित गर्न आफूले सक्दो प्रयास गरेको र दुई साताभित्र सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको गुल्मी वितरण केन्द्र अन्तर्गत जिल्लामा २६ हजार चार सय ३२ ग्राहक रहेका छन् । ती ग्राहकबाट मासिक रु ७० लाखभन्दा बढी महसुल सङ्कलन हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्