अभिनेता सनी देओल भाजपामा, भने : मोदीलाई मेरो साथ



नयाँदिल्ली : बलिउड अभिनेता सनी देओलले राजनीतिमा इन्ट्री गरेका छन् । दिल्लीस्थित भाजपा पार्टी मुख्यालयमा सनीले भाजपाको सदस्यता लिए । 

पार्टी मुख्यालयमा रक्षामन्त्री निर्मला सीतारमनले उनलाई पार्टीमा प्रवेश गरेको प्रमाणपत्र थमाइन् । त्यसपछि फूलको गुच्छा दिएर उनको स्वागत गरिन् । 

समाचार अनुसार सनीलाई भाजपाले गुरदासपुरबाट चुनावी मैदानमा उतार्न सक्नेछ । यस अवसरमा सनीले सञ्चारमाध्यमसँग कुरा गर्दै आफू भाजपामा जोडिनुको कारण सुनाए । 'जसरी मेरा आमा बाबु अटलजीसँग जोडिएका थिए, त्यसैगरी म पनि अब मोदीजीसँग जोडिन आएको छु', उनले भनेका छन्,'अबको पाँच वर्षसम्म भारतमा मोदी नै प्रधानमन्त्री रहनुपर्छ, किनकि हामी अघि बढ्न चहान्छौँ । देशका युवाका लागि मोदी जस्ता मानिसको खाँचो छ । म यो परिवारसँग जोडिएर जति काम गर्न सक्छु, मन लगाएर गर्नेछु ।'

अयस अवसरमा केन्द्रीय मन्त्री पियुष गोयलले कयौँ वर्षदेखिको पारिवारिक सम्बन्ध अब राजनीतिक सम्बन्धमा जोडिएको बताए । सन् २००८ मा धर्मेन्द्र सांसद थिए । उनका पुत्र सनी देओल पनि जनताबीच रहेर आफ्नो राजनीतिक छाप मानिसबीच छाड्न तयार छन् । 'सनी देओलले जसरी फिल्ममार्फत् सुरक्षाकर्मीको हौसला बढाए, अब राजनीतिक जीवनमा पनि आफ्नो पारी अघि बढाउनेछन्',  गोयलले भनेका छन् । 

हालै मात्र सनी देओलले भाजपा अध्यक्ष अमित शाहसँग भेटेका थिए । त्यही समयदेखि सनी देओल पनि कमल थाम्न तयार रहेको अनुमान गरिएको थियो । देओल परिवारबाट हेमा मालिनी पहिले नै मथुराबाट भाजपाको टिकटमा चुनावी मैदानमा छिन् । सन् २०१४ मा पनि हेमा मालिनीले मथुराबाट चुनाव जितेकी थिइन् । हेमा मालिनीका पति धर्मेन्द्रले मथुरा पुगे प्रचार गरेका थिए । 

यो चुनावमा पन बलिउडका कयौँ अनुहार देखिँदैछन् । कांग्रेसले मुम्बईमा छैयाँ-छैयाँ गर्ल उर्मिला मातोडकरलाई चुनावमा उतारेपछि उत्तर प्रदेशको रामपुरबाट जया प्रदा र मथुराबाट हेमा मालिनीलाई टिकट दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्