गण्डकी मेडिकल कलेजका सञ्चालक धरौटीमा छुटे



पोखरा :  गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल धरौटीमा रिहा भएका छन् । सोमबार साँझसम्म चलेको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनलाई १७ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । अर्यालका लागि सिभिल बैंकले बैंक ग्यारेन्टी दिएको थियो ।

वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, निर्मलकुमार कार्की र दीपक पौडेलले अर्यालको पक्षबाट बहस गरेका थिए । गण्डकी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क असुल गरेपछि विद्यार्थीहरुले अर्यालसहित कलेज सञ्चालक र उच्च तहका कर्मचारीविरुद्ध जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थिए ।

विद्यार्थीहरुले सञ्चालक अर्याल सहित , प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, परीक्षा प्रमुखलगायत ११ जनाविरुद्ध ५ वटा जाहेरी दिएका थिए । ५ मध्ये ४ जाहेरीमा तत्कालीन सीईओ खनाल र परीक्षा प्रमुख लक्ष्मणप्रसाद शर्मालाई विपक्षी बनाइएको छ । १ करोड ७३ लाख ५६ हजार ७ सय ८२ रुपैयाँ कुल विगो दाबी विद्यार्थीको जाहेरीमा छ ।

जाहेरीमा परेका सीईओ सन्तोष खनाल परीक्षा प्रमुख शर्मा चैत १८ गते १७ ÷१७ लाख धरौटीमा रिहा भएका थिए । वैशाख ५ गते कर्मचारीद्वय तिलक पौडेल र कृष्ण घिमिरे १७÷१७ लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । कर्मचारी दिनेशप्रसाद पौडेल र युवराज शर्मा, कृष्णप्रसाद पौडेल पनि रिहा भइसकेका छन् ।

११ जनामध्ये ८ जना रिहा भइसकेका छन् भने प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठसहित ३ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्