चौरासी पूजाको रकम गरिबको उपचारमा



म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारसँग सीमाना जोडिएको पर्वत बेनीका एक परिवारले आफ्नी आमाको चौरासी पूजामा संकलित भएको रकम गरिबको उपचारका लागि सहयोग गरेका छन्।

पर्वत बेनीका रुद्र गुरुङले आफ्ना आमा गौसुवा गुरुङको वैशाख ६ गते सम्पन्न चौरासी पूजाबाट संकलन भएको ५५ हजार ५५५ रुपैयाँ म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका हुन्।

ओमकुमारी शान्ति कोषले विभिन्न दाता र संघसंस्थाबाट सहयोग जुटाएर गरिब, असहाय र उपचारका क्रममा आर्थिक अभाव भएका बिरामीहरूको उपचारमा सहयोग गर्दै आएको छ।

आफ्नो चौरासी पूजामा संकलन भएको रकम गरिब र अशक्तहरूको उपचारका लागि दान गर्ने आमाको इच्छा अनुसार उक्त रकम ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको रुद्र गुरुङले बताए। गुरुङ म्याग्दीका विभिन्न सामाजिक, वित्तिय, शैक्षिक तथा परोपकारी संघ संस्थामा क्रियाशील हुनुका साथै गुरुङ कल्याण कोषका अध्यक्ष समेत हुन। 

प्रतिक्रिया दिनुहोस्