फोनको सुरमा आफ्नै कारबाट झरेका बालकलाई किचे 



एजेन्सी : फोनमा गफ गरेर कार चलाउँदा एक व्यक्तिले आफ्नै कारबाट झरेका ३ वर्षीय बालकलाई किचेका छन् । भारतको नयाँ दिल्लीस्थित भरत नगरमा एक व्यक्तिले मोबाइलमा कुरा गर्दै कार चलाउँदा यो दुर्घटना भएको हो । फोनमा कुरा गर्दै उनले तीन वर्षीय बालकलाई कारबाट ओराले ।

ओर्लिएका बालक सडक पार गर्दै घरतिर अघि बढिरहेका हुन्छन् । तर ती बालकलाई आफू झरेकै कारले किच्छ । कारले बालकलाई किचेर केही परसम्म घिसारेको सिसीफुटेज अहिले भाइरल भएको छ। तर चालकले यसबारेमा तत्काल थाहा पाउँदैनन् । उनी त्यतिबेला पनि फोनमै मग्न थिए । 

बालकलाई कारले किचेपछि वरिपरिका मानिस कराउँछन् । त्यसपछि मात्रै कार चालक झरेर बालकलाई अस्पताल लैजान्छन् । कारले किचेर बालक रक्ताम्मे भएको सीसीटीभी फुटेज अहिले सार्वजनिक भएको छ ।

कार चलाउने व्यक्ति ती बालकको बुवाका साथी थिए । उनको नाम आस मोहम्मद हो। बच्चाको नाम गुलाम हो । प्रहरीका अनुसार बालकको बुवाको आग्रहमै आस मोहम्मदले उनलाई घरसम्म लगेका थिए । तर फोनमा कुरा गरिरहँदा दुर्घटना हुन पुग्यो । 

दुर्घटनापछि बालकलाई दीपचन्द बन्धु अस्पतालमा भर्ना गरिएको थियो । जहाँबाट बालकलाई एम्स अस्पतालमा रिफर गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्