कञ्चनपुरबाट प्रधानमन्त्रीलाई अर्को ज्ञापनपत्र



कैलाली : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै स्थानीय नागरिक संघर्ष समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ।

बलात्कारपछि हत्या भएको ९ महिना बित्दा पनि दोषी पत्ता नलागेको भन्दै नागरिक संघर्ष समितिले मंगलबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील कुमार बैद्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो।

घटना भएको ९ महिना बितिसक्दा समेत हत्यारा पत्ता नलागेको र हत्यारा पहिचान गर्न पटक पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गर्दा समेत बेवास्ता गरिएको उल्लेख गरिएको छ। यस्तै उच्च स्तरिय छानविन समितिले दोषी देखाइएका व्यक्तिहरूमाथि थप छानविन गर्नुपर्ने माग समेत गरिएको छ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बैद्यले ज्ञापनपत्र प्रधानमन्त्री समक्ष बुझाउने बताउँदै निर्मलाको न्यायका लागि आम नागरिकले उठाएको आवाज जायज भएको र घटनाका विषयमा त्यसमा अनुसन्धान जारी रहेको बताए।

गत साउन १० गते साथीको घरमा गृहकार्य गरेर फर्किने क्रममा हराएकी निर्मलाको भोलिपल्ट ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्