रिना बस्नेत मृत्यु प्रकरण : रणमैदान बन्यो पथरी (फोटो फिचर)



मोरङ : शनिबार बिहान निर्वस्त्र अवस्थामा भेटिएकी रिना बस्नेतको हत्या भएको भन्दै स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि मोरङ पथरी बजार तनावग्रस्त भएको छ ।

रिनाको हत्या भएको दाबी गर्दै स्थानीयबासी तीन दिनदेखि प्रदर्शनमा छन् । त्यही क्रममा प्रदर्शनले उग्र रुप लिएपछि मंगलबार प्रहरीले हवाई फायर गरेको छ ।

प्रहरीले गम्भीर अनुसन्धान नगरेको भन्दै पथरीबासी आन्दोलित हुँदा अवस्था उग्र भएको हो । प्रदर्शनमा उत्रिएकाले पथरी शनिश्चरे नगरपालिकाको कार्यालय तोडफोड प्रयास गरेका छन् ।

त्यसक्रममा इलाका प्रहरी कार्यालय पथरीमा ढुंगामुढा भएको छ । स्थानीयबासीको आन्दोलित भएपछि पथरी बजार र पुर्वपश्चिम राजमार्ग ठप्प छ । प्रहरीले भीड नियन्त्रण गर्न २ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । 

आन्दोलनकारीलाई साथ दिँदै नगरपालिकाकी उपप्रमुख यमुना विष्ट पनि उत्रिएकी छिन् । उनलाई आन्दोलनकारीले नगरपालिकाबाट निकालेर ल्याएका हुन् । 

नगरपालिकाबाट आन्दोलनकारी इलाका प्रहरी कार्यालय घेराउमा पुगेपछि अवस्था अझै जटिल भएको हो । घटनाबारे स्थानीय सरकार नबोलेपछि स्थानीयबासी पथरीबासी नगरपालिकासँग रिसाएका हुन् । 

स्थानीयवासीमाथि प्रहरीले अश्रृग्यास प्रहार गर्दा ५ जना घाइते भएका छन् । अश्रुग्यासबाट गम्भीर घाइते पथरीका सुदिप राई र गोपाल विकलाई थप उपचारका लागि विराटनगर लगिएको छ ।

सबै तस्बिरहरु सौजन्य : गोपाल काफ्ले

प्रतिक्रिया दिनुहोस्