उदाहरणीय वडाध्यक्ष : तलब भत्ता सबै सामाजिक काममा



गोरखा : गोरखाको शहिद लखन गाउँपालिका ७ का वडाध्यक्ष शरण श्रेष्ठले निर्वाचित भएयता पाएको तलब भत्ता सामाजिक काममा खर्च गरिरहेका छन्। विभिन्न ठाउँका जनप्रतिनिधिले फर्जी बिल पेस गरेको र नियम विपरीत भत्ता लिएको सामाजिक संजाल र संचार माध्यममा चर्चा भइरहेका बेला वडाध्यक्ष श्रेष्ठले भने उदाहरणीय काम गरिरहेका हुन्।

‘अध्यक्षमा निर्वाचित भएदेखि अहिलेसम्म २१ महिनामा तीन लाख ७८ हजार रुपैयाँ पाएँ’, अध्यक्ष श्रेष्ठले भने, ‘यो रकमले वडा भित्रका ५ वटा विद्यालयमा बाल कक्षादेखि ५ सम्म अंग्रेजी माध्यमको पाठ्यपुस्तक खरिद गरी वितरण गरेँ।’ अध्यक्ष श्रेष्ठले तीन लाख ७८ हजारमा अंग्रेजी माध्यमको पाठ्पुस्तक खरिद गरी विद्यालयलाई वितरण गरेका छन्।

यस वर्षदेखि उनको वडामा रहेका विद्यालयले बाल कक्षा देखि ५ सम्म अंग्रेजी विषयमा पढाई थालेका छन्। अभिभावकको माग अनुसार अध्यक्ष श्रेष्ठले वडाबाटै निर्णय गरेर सबै विद्यालयको प्रावि तहमा अंग्रेजी माध्यम अनिवार्य गराएका हुन्।

सरकारी पाठ्यपुस्तक निःशुल्क पाए पनि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यामको पुस्तक खरिद गर्दा अविभावकलाई पर्ने आर्थिक भार हटाउन आफूले पुस्तक खरिद गरेर श्रेष्ठले जानकारी दिए। उनले शहिद स्मृती माविमा ७० सेट, चण्डिका आधारभुत विद्यालयमा ६७ सेट, लखनथापा आधारभुत विद्यालयमा ५३ सेट तथा खाब्दी प्रावि र मकैपुर प्राविलाई निशुल्क पाठ्यपुस्तक उपलब्ध गराएका हुन्।

मंगलवार चण्डिका आधारभुत विद्यालयमा राष्ट्रियसभा सदस्य तथा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्दै वडाध्यक्षले गरेको कामको प्रशंसा गरे।

सामुदायिक विद्यालयमा सुरु भएको अंग्रेजी भाषा शिक्षणले विद्यार्थीको क्षमता अभिवृद्ध र प्रोत्साहनका लागि सहयोग गरेको अध्यक्ष श्रेष्ठले मंगलवार प्रेस बिज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन्। उनले अनुगमन भत्तामा पाएको ८० हजार रुपैयाँ पनि सामाजिक काममा खर्च गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्