श्रीलंकामा ३०० मारिने गरी विस्फोट : इस्लामिक स्टेटले जिम्मा लियो



श्रीलंका : श्रीलंकामा तीन सय भन्दा धेरैको ज्यान जाने गरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले मंगलबार लिएको हो । गत आइतबार ‘इष्टर सन्डे’का दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी भएको विस्फोटनमा ३ सय भन्दा धेरैको मृत्यु भएको थियो । श्रृंखलावद्ध विस्फोटमा ५ सय भन्दा धेरै घाइते भएका थिए ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा त्यहाँको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको दाबी गरेका थिए । आक्रमणमा वाह्य समूहको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।

यो आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ । यो आक्रमणमा ३६ जना भन्दा धेरै विदेशी मारिएका छन् । भारतका मात्रै सातजनाले ज्यान गुमाएका छन् । डेनमार्कका एक धनाढ्यले आफ्ना तीन सन्ता गुमाएका छन् । यो घटनापछि मंगलबारका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्