जलवायु परिवर्तनका असर र विश्वको चुनौती : नेपाल के गर्दैछ ?



काठमाडौं : पछिल्लो समय विश्वभर जलवायु परिवर्तनको मुद्दा निकै चासो र चिन्ताको विषय बनेको छ। यसको प्रभावले विश्वभरका  मानिस, जीवजन्तुसँगै प्रकृतिमा धेरै असर गरिरहेको सरोकारवाला बताउँछन्।

जलवायु परिवर्तन न्यूनीकरण तथा यसबाट हुने प्रभाव न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न जलवायु परिवर्तनका नीति नियम कार्यान्वयन गर्न आवश्यक रहेको देखिन्छ । 

जलवायु परिवर्तन भनेको के हो?

जलवायु परिवर्तन पृथ्वीको वातावरणमा मानवका अवान्छित गतिविधिका कारणले  सिर्जित समस्या हो । यसका कारण अनावृष्टि, अत्यधिक वर्षालगायत विभिन्न प्राकृतिक प्रकोप उत्पन्न हुन्छन् ।

औसतमा २० वर्षको अन्तरालमा देखिने मौसम परिवर्तनलाई पनि जलवायु परिवर्तन भन्ने गरिन्छ । विशेषगरी तापक्रममा भएको परिवर्तन, पानी पर्दा हुने फेरबदललाई हामी जलवायु परिवर्तनको इन्डिकेटरमा राख्न सक्छौं ।

जलवायु परिवर्तनका अवस्था

जलवायु परिवर्तन विश्वकै लागि चुनौती बनेको छ। विशेषगरी औद्योगिक क्रान्ति पछाडिका मानवीय क्रियाकलापले गर्दा उत्सर्जित हरितगृह ग्यासका कारणले जलवायु परिवर्तन भएको छ । यसबाट विश्वको औसत तापक्रम पनि वृद्धि भइरहेको छ ।

तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने भनिरहँदा पनि सम्भव नहुने भन्ने कुराहरु आइरहेको छ । कति ठाउँमा २÷३ डिग्री सेल्सियस तापक्रम बढिरहेको कुराहरु पनि आइरहेको छ । अर्को भाषामा एकीकृत औसत तापक्रम बढिरहेको भन्ने बुझिन्छ ।

कतिपय ठाउँमा समस्या नै बनिसकेको छ । नेपालको कुरा गर्दा अग्ला हिमाल पग्लने, हिउँ पग्लने, हिमनदीको सतह बढ्ने, हिमताल फुट्ने जस्ता समस्या देखा परिरहेका छन् । नेपालमा मात्र नभई अरु देशमा पनि यस्ता विपत्ति धेरै आइरहेका छन् ।

जलवायु परिवर्तनका कारण

जलवायु परिवर्तन मुख्यत: प्राकृतिक र मानवीय क्रियाकलापको कारणले हुन्छ । वायुमण्डल, हावापानीको समयचक्रसँगै हुने परिवर्तनलाई प्राकृतिक भन्न सकिन्छ तर हरितगृह ग्यास वृद्धि हुनु मानवीय क्रियाकलापको उपज हो ।

जलवाष्प, कार्बनडाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, क्लोरोफ्लोरो कार्बन आदि ग्यासलाई हरितगृह ग्यास भनिन्छ । वायुमण्डलमा यस्ता ग्यासले पृथ्वीबाट परावर्तन हुने विकिरण (अल्ट्राभ्वाइलेट रे) सोसेर फेरि पृथ्वीमै फर्काउँछन् ।

फलस्वरूप पृथ्वीको तापक्रम बढ्न जान्छ । यी ग्यासको मात्रा बढ्दै जाँदा पृथ्वीको तापक्रम पनि बढ्दै जान्छ यही प्रभावलाई हरितगृह प्रभाव भनिन्छ । हरितगृह प्रभावले पृथ्वीको तापक्रम बढेको र यसकै कारण जलवायु परिवर्तन भएको विज्ञहरुको भनाइ छ ।

नेपालले हरितगृह ग्यास उत्सर्जनमा खासै प्रभाव पारेको देखिँदैन तर छिमेकी देश चीन र भारतको हरितगृह ग्यास उत्सर्जन अत्यधिक बढीरहेकाले जलवायु परिवर्तनको प्रभाव बढी देखिएको छ ।

 

जलवायु परिवर्तनका असर÷प्रभाव

जलवायु परिवर्तनले हिमाललगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकासलगायत सबै क्षेत्रमा नकारात्मक असर पु¥याउन थालेको छ। 

कृषिमा : पहिला बर्खामा पानी पथ्र्यो अनि यो बर्खा हो, अब धान रोप्नु पर्छ भन्ने थियो तर अब त्यो परिवर्तन भएको छ । अर्थात बर्खामा पानी पर्दैन अर्कै याममा धेरै पानी पर्छ । यसरी वर्षामा भएको फेरवदलसँगै कृषि उत्पादन घटिरहेको छ । अतिवृष्टि र अनावृष्टिले कृषि उत्पादन घट्दै गएको छ ।  

बाढीपहिरो : पहिले पहिले बाढी पहिरो नजाने ठाउँमा पछिल्लो समय बाढि पहिरो आइरहेको छ । यसबाट धेरै जनधनको क्षति भैरहेको छ ।

नयाँ नयाँ रोग : नयाँ नयाँ रोग देखा परिरहेका छन्, जसले मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । त्यसैगरि विभिन्न प्रजातिका वनस्पति र जनावर लोप भैरहेका छन् ।

हामीले दैनिक गरिरहेका कामहरूमा पनि परिवर्तन भैरहेको छ । जस्तो औसत तापक्रम वृद्धि भइरहँदा हाम्रो जीवनचक्रमा नै परिवर्तन भैरहेको छ । यसले मानवसँगै प्रकृतिमा भएका जीवजन्तुको जीवनचक्रमा नै असर परेको देखिन्छ । हिउँले ढाकिएका भूभाग क्रमशः नांगिँदै गइरहेको छ । 

न्यूनीकरणका उपाय

जलवायु परिवर्तनले सिर्जना गरेका असर एकैपटक न्यून पार्न सक्दैनौं । जलवायु परिवर्तनका असरबाट जोगिने २ उपाय छन् । सम्भावित असरलाई अगाडि नै न्यूनीकरण गर्ने, असर हुँदै छ भने त्यसको प्रभावलाई कसरी न्यून पार्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । हामीले जलवायु परिवर्तनको असर न्युनीकरण गर्न यी २ कुरामा ध्यान दिन सक्नु पर्छ । 

नेपालमा यसको असर 

नेपालमा बर्सेनि औसत शून्य दशमलव ०४ डिग्री सेल्सियसका दरले तापक्रम बढिरहेको छ। यो विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो। हिमताल बन्ने र फुट्ने क्रमलाई जलवायु परिवर्तनको असर भन्न सकिन्छ।

नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून (०.०२७५) गरिरहेको भए तापनि चीन, भारतलगायत राष्ट्रका कारण जलवायु परिवर्तनको उच्च जोखिममा छ । त्यसैले हामीले प्रभाव न्यूनीकरण गर्न कार्बन घटाउने, उत्सर्जन घटाउनेभन्दा पनि विश्वजगतमा उदाहरणीय काम गर्न सक्छौं।

मानिसहरुलाई जलवायु परिवर्तनको बारेमा बुझाउनु पर्छ, जलवायु परिवर्तनसँग जुझ्न र अनुकूलन र न्यूनीकरणका लागि बजेट छुट्याउनु पर्छ । सरकारले २०११ मा राष्ट्रिय जलवायु नीति तर्जुमा गरेको थियो र परिवर्तित शासन प्रणालीसँगै यो नीति पनि परिवर्तन गरिरहेको छ ।

त्यसैगरी राष्ट्रिय योजना अनुकूलनलाई राष्ट्रिय स्तरमा अनुकूलनका कार्ययोजना पनि तयार गरिसकेको छ । तर समय सापेक्षको नीति, कार्यक्रम तर्जुमा र त्यसलाई कार्यान्वयन गर्न पर्ने आवश्यकता रहेको छ ।

नेपालीको क्षमता विकास पनि ध्यानमा राखेर क्षमता अभिवृद्धि गर्ने कार्यक्रम पनि लिएर जान सकियो भने जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सक्छौं । 

नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि गरेका प्रयास

अहिलेको अवस्थामा सरकारको माध्यमबाट विभिन्न परियोजना सञ्चालित छन् । तर ती स्थानीय तहसम्म पुग्न सकेको छैन । परिवर्तित राज्य संरचनाले सम्पूर्ण अधिकार स्थानीय तहमा पुगेको छ, त्यसले गर्दा स्थानीय सरकार, स्थानीय तहकै क्षमता वृद्वि गर्न सके जलवायु परिवर्तनको असर कम गर्न सक्छौ ।

तर अहिलेको अवस्था हेर्दा स्थानीय तहसम्म कार्ययोजना पुग्ने प्लानिङ बनाएको देखिँदैन । नपुग्नुको कारण के हो भने पर्याप्त स्रोतसाधन छैन, आर्थिक अभाव छ, अनुगमन छैन, टेक्निकल मेनपावर पनि छैन । सरकारले यससम्बन्धी ध्यान दिनु पर्छ । सरकारले जति काम गरेको छ राम्रो गरेको छ, तर अपुग छ ।

प्रतिक्रिया दिनुहोस्