विप्लवको विद्यार्थी संगठनका नेता विश्वकर्माद्वारा पार्टी परित्याग



म्याग्दी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व गण्डक ब्युरो इञ्चार्ज प्रकाश विश्वकर्माले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।  

मंगलबार एक प्रेस विज्ञप्ती प्रकाशन गर्दै विश्वकर्माले आफू विप्लव निकट नेकपा परित्याग गरी सत्ताधारी नेकपामा प्रवेश गरेको जानकारी दिएका छन्। प्रहरीको खोजी सूचीमा रहेका बेनी नगरपालिका २ ज्यामरुककोटका विश्वकर्माले विप्लव समूहबाट यसअघिनै अलग्गीएको बताउँदै सो समूहको कुनै पनि गतिबिधिमा संलग्न नहुने र सत्ताधारी नेकपामा आवद्ध हुने विज्ञप्ती मार्फत जनाएका छन्।

विश्वकर्मा सहायक प्रजिअ महेश सुवेदी, प्रहरी निरीक्षक धु्रबकुमार शर्मा, नेकपाका अध्यक्ष गोविन्द पौडेल, टेकबहादुर विश्वकर्मा, नगर संयन्त्र सदस्य नारायण जिसी, युवा नेता दिनेश केसी र पत्रकारहरूको रोहबरमा सार्वजनिक भएका हुन् विश्वकर्मालाई एनसेलको टावरमा आगजनी लगायत विप्लव समूहको गतिविधिमा संलग्न भएको भन्दै प्रहरीले खोजीको सूचिमा राखेको थियो।

सरकारले गतिबिधि गर्न प्रतिबन्ध लगाएपछि म्याग्दीमा विप्लव समूहका नेता तथा कार्यकर्ताहरू राजिनामा दिँदै सत्ताधारी नेकपामा प्रवेश गर्न थालेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायको निगरानीका कारण पेशा व्यवसाय गर्न असहज भएको भन्दै यसअघि विप्लव समूहका जिल्ला सदस्य प्रेम श्रीस, शिक्षक संगठनका कार्यबाहक जिल्ला अध्यक्ष थमबहादुर पुन र सदस्य सन्तोष गिरीले पदबाट राजिनामा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्