ऋण तिर्न नसकेपछि अपहरणको नाटक, भागेर भारतमा



जनकपुरधाम : ऋणबाट छुटकारा पाउन आफ्नै अपहरणको नाटक गर्ने एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–११ मा चिया पसल गर्दै आएका ध्रुवनारायण कर्णले साहुले ऋण तिर्न ताकेता गरेपछि यही वैशाख ५ गते बिहान अपहरणको नाटक गरी भारत भागेका थिए ।

उनले आफ्ना भेस्ट च्याती पसलको साँचो फालेर सीमावर्ती क्षेत्र जटही हुँदै भारतको दिल्ली पुगेका थिए । उनी त्यहाँ काम नपाएर जनकपुर फर्किदा प्रहरीको फन्दामा परेका हुन् । 

कर्ण बेपता भएपछि उनका परिवारजन र आफन्तले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । त्यही उजुरीको आधारमा खोजी गर्दै जाँदा पक्राउ परेपछि सुरुमा अपहरण भएको बताएका थिए । तर अनुसन्धानका क्रममा सोधपुछ गर्दै जाँदा ऋणबाट बच्न भारत भागेको बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्ला प्रशासनबाट सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा म्याद थप गरी कर्णमाथि अनुसन्धान अघि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्