वीरगञ्जमा २० वर्षीयाले जन्माइन् चार सन्तान



वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिका ४ जयमंगलापुरकी नजमा खातुनले एकै पटक चार शिशुलाई जन्म दिएकी छन्। मंगलबार वीरगन्जको हेल्थ केयर अस्पतालमा खातुनले एक छोरा र तीन छोरीलाई जन्म दिएकी हुन्।

सलीम सिद्धिकीका २० वर्षीय श्रीमती खातुनले दिउँसो १२ बजेर ४० मिनेटमा चारजना शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार खातुनले जन्माएका चारैजना शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

खातुनले जन्म दिएका तीन छोरीको तौल क्रमशः १ किलो ५ सय ग्राम, १ किलो र ८ सय ग्राम तथा छोराको तौल १ किलो २५० ग्राम रहेको हेल्थ केयरका प्रबन्धक अबुलेश अन्सारीले बताए।

शिशुको अवस्था सामान्य रहे पनि तौल कम भएकाले सबैलाई अस्पतालको एनआइसीयु राखिएको छ। खातुनलाई वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार बिहान ७ बजे भर्ना गरिएको थियो।

खातुनले गर्भ रहेको सात महिना नपुग्दै शिशु जन्मिाएकाले उनीहरूको तौल कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्। डाक्टर चौधरीका अनुसार आमा खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

प्रतिक्रिया दिनुहोस्