पुरुष क्रिकेटको उपाधिका लागि पुलिस र एपिएफ भिड्ने



नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। मंगलकार भएको सेमिफाइनलमा एपिएफले प्रदेश–१ लाई ८ विकेट र पुलिसले नेपाल आर्मीलाई ३ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८० रन बनाएको थियो। पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक २३ रनको योगदान दिए। त्यस्तै दिलिप नाथ ११, आरिफ शेख ८ र मञ्जित श्रेष्ठ ९ रनमा आउट भए। आर्मीका सहाब आलमले ३ तथा सोमपाल कामी र सुशन भारीले समान २–२ विकेट लिए।

८१ रनको लक्ष्य पछ्पाएको आर्मी १८ ओभरमा अल आउट हुँदै ७७ रनमा समेटियो। आर्मीका लागि कुशल मल्लले २३, राजु रिजालले १४ र राजेश पुलामी मगरले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शुसन भारी र सहाव आलम डक आउट भए।

पुलिसका सागर ढकालले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४ तथा नबिन सिंह थापा र ललित नारायण राजवंशीले समान ३ विकेट लिए। सागर खेलमा ‘म्यान अफ द म्याच’ चुनिए। यसअघि आजै भएको पहिलो सेमिफाइनलमा प्रदेश–१ लाई ८ विकेटले पराजित गर्दै एपिएफले फाइनलमा स्थान बनाएको थियो। 

प्रतिक्रिया दिनुहोस्