लोकतन्त्र दिवस विशेष: थप पीडाबोध हुन्छ शहीद परिवारलाई



 मकवानपुर : सुनसान बस्ती, पिँढीमा टोलाइरहेकी ७९ वर्षीया वृद्धा लाग्छ, उनी कसैको प्रतीक्षा गरिरहेकी छन् । उनी अर्थात् जनआन्दोलन २०६२÷६३ का शहीद वासुदेव घिमिरेकी आमा चित्रकुमारी । चित्रकुमारी ३८ महिनादेखि ओछ्यान परेकी छन् । प्यारालाइसिसले गाँजेको उनको कम्मरमुनिको भाग चल्दैन । मकवानपुर मकवानपुरगढी गाँउपालिका–५ आमभन्ज्याङ (कञ्चनथली) मा भूकम्पपछि निर्मित सानो घरको चौघेरा पनि डुल्ल सक्दिनन् उनी ।

शौचालय जानका लागि पनि सहयोग चाहिन्छ । शौचालय जानुपर्दा घरमा कोही हुन्नन्, कतिबेला कोही आइपुगेर सहयोग गर्लान् भनेर टोलाउँदै बाटो हेर्दै बस्छिन् उनी । शहीद दिवस आएपछि नेता आउँछन्, पत्रकार आउँछन्, पीडा बल्झाउँछन् । त्यसैले यस्ता व्यक्तिसँग झिँजो मान्छन् शहीद परिवार ।

‘भूकम्पले घर भत्कायो, दाताहरूले बनाइदिए, सानो चिटिक्कको घर छ । तर, त्यो घरमा शान्तिसँग बस्न सक्दिनँ, मन दिनदिनै कँुडिन्छ,’ उनले विस्तारै भनिन् । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनले बताइन् । ‘परिवारले सकेको घरेलु औषधिमुलो गरे, तर प्यारालाइसिसबाट उठ्न सकिनँ म,’ उनले भनिन्, ‘मानसिक र शारीरिक पीडाले अब तंग्रन्छु जस्तो लाग्दैन ।’

घरभन्दा केही मिटर मात्रै तल पक्की सडक बनेको छ हालै मात्र । चित्रकुमारीलाई त्यो सडकसम्म पुग्न खुब रहर छ । उनी भन्छिन्, ‘मनले जाऊँजाऊँ भन्छ, उठेर जान खोज्छु तर लडेर घाउचोट लाग्यो ।’

शहीद परिवारको नाममा उपचारमा कतैबाट सुविधा नपाएको उनले बताइन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा पनि उनी सहभागी छैनन् ।बुढेसकालको ख्याउटे शरीरले दशनंग्रा खियाउँदै छन् ८० वर्षीय पिता कृष्णप्रसाद । भन्छन्, ‘बाँचुन्जेललाई खानै पर्‍यो, सकी नसकी पनि काम त गर्नै प¥यो । एक बिघा जग्गा छ, काम गर्ने जनशक्ति छैन । स्वास्थ्य कमजोर भएपछि सन्तानको बढी याद आउँछ,’ कृष्णप्रसादले भने ।

‘वर्षमा एक दिन धेरैले सम्झन्छन्, केही नेता तथा पत्रकार घरैमा आउँछन्, पीडा बल्झाएर जान्छन्,’ कृष्णप्रसादले भने ‘हामीलाई क्यै न क्यै, कहिले खुसी लाग्छ, कहिले दुःख लाग्छ ।’

उनीहरूले भोट माग्न आउने नेतालाई छोराको सालिक बनाइदिन माग गरे । सबैले बनाउने आश्वासन पनि दिए । चित्रकुमारी भन्छिन्, ‘२०७० सालमा नेता जयराम लामिछाने आएका थिए, उनलाई पनि सालिक बनाइदेऊ भनें, ५ सयको नोट दिएर गएका फर्केनन् ।’

कृष्णप्रसाद र चित्रकुमारीले छोरा वासुदेव गुमाएको १३ वर्ष बित्यो । त्यो पल उनीहरूको मानसपटलमा ताजै छ । ‘हामी आफ्नो बारीको काममा थियौं, काठमाडौको गोंगबुमा छोरालाई गोली लाग्यो रे भन्ने सुनें, पत्याइएन,’ कृष्णप्रसादले भने, ‘फोन हैन त्योबेला खबर ढिलो गरी आयो, पीडा बोकेर आयो ।’ लोकतन्त्र दिवस, शहीद दिवसजस्ता दिनमा मात्र छोरा वासुदेवको सम्झना गर्ने तर अघिपछि बेवास्ता गर्ने गरेको उनीहरू गुनासो गर्छन् ।

प्रतिक्रिया दिनुहोस्