नायक विराज भट्ट र निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट



काठमाडौँ : सोमबार साँझ नयाँ बानेश्वरस्थित एक होटेलमा नायक विराज भट्ट र निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट भएको छ । चलचित्र‘साङ्लो’ निर्माणबारे विवादले उग्ररुप लिएपछि दुईजनाबीच मुक्का मुक्की भएको हो । 

‘साङ्लो’ विराजले निर्माण गर्न लागेको चलचित्र हो । यो चलचित्र फागुनबाट बनाउन थाल्ने भन्दै विराजले पुसमा प्रोडक्शन डिजाइनका लागि पाण्डेसँग सम्झौता गरेका थिए ।

बानेश्वरस्थित एक क्याफेमा विराजले चलचित्र सुटिङ थाल्नेबारे कुरा गर्न पाण्डेलाई डाकेका थिए । त्यसक्रममा पाण्डले चलचित्रमा काम गर्न नसक्ने जवाफ दिएका थिए । 

पाण्डेले काम गर्न नसक्ने जबाफ दिएपछि विराजले आफूले दिएको पैसा मागेका थिए । पाण्डेले भने यही चलचित्रका लागि चार महिना समय लगानी गरिसकेको बताउँदै पैसा फिर्ता नहुने बताए । त्यसपछि विराज पाण्डेमाथि जाइ लागे । भट्टले कुटेपछि पाण्डे भुइँमा ढले । 

क्याफेमा पाण्डे, विराज र अर्का निर्माता केशव घिमिरे पनि थिए । केशव अर्को टेबुलमा थिए । विराजले हात हालेपछि केशवले रोकेका थिए । केशवले विराजलाई समातेपछि शंकरले पनि विराजमाथि मुक्का बर्साए । 

कुटाकुटमा उत्रिएपछि क्याफेका कर्मचारीले बाहिर जान भनेका थिए । कुटाकुट गरेपछि दुवैजना मोबाइल बन्द गरेर गायब भएका छन् । कुटाकुट भएको बारे चलचित्र प्राविधिक संघले सामाजिक सञ्जालमै लेखेको छ।  संघका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेर यो घटनाको निन्दा गरेका छन् । 

‘अभिनेता तथा निर्माता विराज भट्टले चलचित्र प्राविधिक संघका साधारण सदस्य एवं निर्माण नियन्त्रक शंकर पाण्डेलाई अपशब्द प्रयोग गर्दै कुटपिट गरेको घटनाप्रति संस्थाको ध्यानाकर्षण भएको छ', भनिएको छ, 'गरिमामय पेशाका व्यक्तिबाट हुलहुज्जत हुनु पक्कै शोभनीय काम होइन ।’ 

लामाले घटनाबारे नेफ्टाले सत्यतथ्य बुझेर आवश्यक कदम चाल्ने बताए । प्राविधिकहरुको इज्जत, गरिमा, मर्यादा र कर्मलाई उचो बनाउन सदैव क्रियाशील रहने बताउँदै उनले एकले अर्कालाई इज्जत दिनुपर्ने पनि जिकिर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्