मृतक संख्या ३ सय ५९ पुग्यो, १८ संदिग्ध पक्राउ



कोलम्बो : श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध आत्मघाती विस्फोटमा मारिनेको संख्या बढेर ३ सय ५९ पुगेको छ। श्रीलंकाली प्रहरीले विस्फोटमा संलग्नताको आशंकामा थप १८ जना पक्राउ गरेको जनाएको छ।

प्रहरीले थप १८ जना संदिग्ध समातेपछि पक्राउ पर्नेको संख्या करिब ६० पुगेको छ, जसमध्ये एक जना सिरियाली पनि छन्।

विस्फोटमा ३८ जना विदेशी मारिएका भए पनि मृतक र घाइतेमध्ये अधिकांश श्रीलंकाली नै छन्। मृतकमध्ये ४५ जना बालबालिका छन्।

बेलायती समाचार एजेन्सी रोयटर्सले विभिन्न स्रोत उद्धृत गर्दै श्रीलंकाली गुप्तचर निकायहरूलाई भारतले आक्रमणको केही घन्टाअघि इस्लामिक उग्रवादीहरूले आक्रमण गर्ने निश्चित रहेकाे जानकारी दिएको दाबी गरेको छ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सुरक्षा निकायका प्रमुखहरू फेरबदल गर्ने मंगलबार राति बताएका थिए। इस्टरमा आक्रमण हुनसक्ने गुप्तचर निकायको चेतावनी बेवास्ता गरेकाले  प्रमुख फेर्ने जानकारी दिएका थिए।

चर्च र होटलमा इस्टर मनाइरहेका बेला आइतबार श्रीलंकाभरि भएका ८ आत्मघाती विस्फोटको जिम्मेवारी उग्रवादी इस्लामिक लडाकु समूह आइएस(इस्लामिक स्टेट)ले लिएको थियो। समूहले गएको मार्चमा न्युजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको आक्रमणमा मारिएका ५० जनाको बदला लिएको जनाएको छ।

प्रहरी प्रवक्ता रुवान गुणसेखराले बुधबार मृतक संख्या ३ सय ५९ पुगेको बताए। मंगलबार मृतक संख्या ३ सय २१ बाट बताइएको थियो। ५ सय भन्दा बढी घाइते भए पनि ३ चर्च र चार होटलमा भएका विस्फोटमा भएका घाइतेको विस्तृत विवरण भने उनले दिएनन्।

आइएसले उसको एएमएक्यू समाचार एजेन्सीमार्फत् श्रीलंकामा भएको विस्फोट ७ जना आक्रमणकारीले गरेको दाबी गरेको छ। तर ती विस्फोट उसैले गराएको कुनै प्रमाण भने दिएको छैन। श्रीलंकाका विस्फोट आइएसले नै गराएको हो भने यो उसले इराक–सिरियाबाहिर गरेको सबैभन्दा ठूलो आक्रमण हो।

रक्षा राज्यमन्त्री रुवान विजयवद्र्धनेले मंगलबार संसद्मा आक्रमणकारीबारे जानकारी दिएका थिए। उनले आत्मघाती विस्फोट श्रीलंकामा सक्रिय इस्लामिक समूह एनएचजे (द नेसनल तौहिद जमायत) र जेएमआई (जमायतुल मिल्लायत इब्राहिम) ले गराएको बताएका थिए।

राजधानी कोलम्बोबाट उत्तर पश्चिममा पर्ने नेगोम्बोमा पनि धेरै जनालाई प्रहरीले हिरासतमा लिएको छ। तर प्रहरीले त्यहाँ कति जना पक्राउ गरेको हो बताएको छैन। त्यहाँ रहेको गोथिक शैलीको सेन्ट सेबास्टियन चर्चमा पनि आइतबार भएको आत्मघाती विस्फोटमा निकै जना मारिएका थिए। मुस्लिमबहुल नेगोम्बोमा सन् २०१४ मा साम्प्रदायिक दंगा भएका थिए।

एक जना सुरक्षा अधिकारीले देशभरि नै आक्रमणकारीको खोजी भइरहेको बताएका छन्। उनले मुस्लिमबहुल क्षेत्रमा निकै कडा जाँच भइरहेको बताए।

विस्फोट अनुसन्धानमा श्रीलंकाली सुरक्षा निकायलाई अमेरिकी सुरक्षा निकाय संघीय जाँच ब्युरो (फेडरल ब्युरो अफ इन्भेस्टिगेसन) ले पनि सघाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्