पुरुष क्रिकेटमा त्रिभुवन आर्मीलाई कांस्य



बाँके : त्रिभुवन आर्मी क्लबले आठौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा कांस्य पदक जितेको छ। कोहलपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा प्रदेश–१ लाई ६९ रनले पराजित गर्दै आर्मीले कास्य पदक जितेको हो।

आर्मीले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याएको प्रदेश–१ १०.५ ओभरमा अल आउट हुँदै ४२ रनमा समेटियो। प्रदेश–१ का पुष्प थापाले १२ र श्रवण यादवले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन्। आर्मीका सुशन भारीले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ५ विकेट लिए। त्यस्तै हरि कृष्ण झाले २ तथा हरिबहादुर चौहान, सहाव आलम र राजेश पुलामीले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाई १ सय ११ रन बनाएको थियो। आर्मीका लागि रोहितकुमार पौडेलले सर्वाधिक ३४ बनको योगदान दिए। २० बलको सामना गरेको उनले २ चौका र २ छक्का प्रहार गरे।

त्यस्तै भिम सार्कीले १९ तथा राजेश पुलामी मगर र हरिबहादुर चौहानले समान १२ रन जोडे। प्रदेश–१ का पुष्प थापाले २ विकेट लिए। खेलमा आर्मीका सुशन भारी ‘म्यान अफ दि म्याच’ घोषित भए।

प्रतिक्रिया दिनुहोस्