यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट : मलेसियामाथि नेपालको सहज जित



काठमाडौं : थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा मलेसियामाथि ३९ रनको सहज जित निकाल्दै नेपालले लगातार दोस्रो जित निकालेको हो।

थाइल्याण्डको चियाङमाईमा नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर २ बलमा अलआउट हुँदै १०२ रनमा समेटियो। मलेसियाका लागि सार्भिन सुरेद्रनले नटआउट रहँदै सर्वाधिक ४६ रन बनाए। यस्तै अमहेद अस्यार्फले १७ र किशन कुमारले ११ रन बनाए। नेपालका रमेश कुर्मी, तिलक राज भण्डारी र प्रशान्त महतले समान २–२ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३४.५ ओभरमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो। नेपालका लागि आईश भट्टराईले ४२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाए।

त्यस्तै कप्तान विशाल बिक्रम केसीले २८, दिपक बोहोरा र अर्जुन कुमालले समान १६–१६, निखिलकुमार सिंहले १२  तथा सुवास ऐरले ११ रन बनाए। रोहन दुधराज बिक ८, प्रशान्त महत शून्य, प्रशान्त सिंह ६, तिलक राज भण्डारी २ र रनमा आउट भए।

मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै लोकमान नुर र सचिनुले समान २–२ तथा मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक–एक विकेट हात पारे।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलबाट ४ अंक जोडेको छ। र, नेपाल सेमिफाइनल नजिक पुगेको छ। यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो। यस समूहमा मलेसियाको पनि ४ अंक रहेको छ। साविकको विजेता समेत रहेको नेपालले अब अन्तिम खेलमा बिहीबार आयोजक थाइल्याण्डसँग खेल्नेछ। अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो।

प्रतिक्रिया दिनुहोस्