कर नतिरेपछि देशभर एनसेलको सिम बहिष्कार अभियान 



काठमाडौं : निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाको सिम बहिष्कार अभियान सुरु भएको छ । नेपाल सरकारलाई ४० अर्ब भन्दा धेरै राजश्व नबुझाएको भन्दै एनसेलको सिम बहिस्कार गर्ने अभियान सुरु भएको हो । 

एनसेलको विपक्षमा बहस गरिरहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सिम बहिष्कार अभियान सुरु गरेका हुन् । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता भण्डारीले एक भिडियो सन्देशमार्फत् सिम बहिष्कार अभियान सुरु गरेका हुन् । 

‘एनसेलले कर तिर्नुपर्छ भनेर निर्णय गर्यो । निर्णयपछि नेपाल सरकारलाई एनसेलबाट कर असुल गर्न जानकारी दिइयो । ठूला करदाता कार्यालयले ७ दिनभित्र ४० अर्ब कर चुक्ता गर्न एनसेललाई पत्र लेख्यो,’ भण्डारीले फेसबुकमा भिडियो सन्देश राख्नै भनेका छन्,‘सात दिन पुग्ने दिन एनसेलले सर्वोच्च अदालतमा अर्को मुद्दा दायर गरेर जालझेल गरेको छ । यो मुद्दाको निर्णय हुन समय लागुन्जेलसम्म अर्थात १/२ वर्षसम्म लम्ब्याउने कर नतिर्ने छलकपट र परिपञ्च एनसेलले गरेको छ ।’

भण्डारीले यति ठूलो रकम मुलुकको ढुकुटुीमा नआउँदा राष्ट्रको अहित हुने बताएका छन् । मुलुकलाई माया गर्ने हरेका नेपालीले एनसेलले कर तिर्न आनाकाकानी गरेसम्म सिम बहिस्कार गर्न उनले आग्रह गरेका छन् । 

‘एनसेलले कर नतिर्दासम्म प्रत्येक नेपालीले एनसेलको सिम प्रयोग नगरौँ । यसो गर्यो भने मात्रै एनसेलले कर तिर्नसक्छ । अन्यथा एनसेलले मुद्दा गर्ने बहानामा विभिन्न छलकपटका नाममा कर नतिर्ने र लम्ब्याउने काम गर्छ,’ उनले भने,‘जसले मुलकलाई ठूलो घाटा हुन्छ । मुलुकलाई माया गर्ने प्रत्येक नेपालीहरु अब उठौँ जागौँ । एनसेलको सिम कार्ड प्रयोग गर्न बन्द गरौँ ।’

प्रतिक्रिया दिनुहोस्