नारायणी अस्पतालमा भ्रष्टाचार : कर्मचारीले अख्तियारसँग खोले आफ्नै हाकिमको पोल



वीरगन्ज : नारायणी अस्पताल वीरगन्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। अस्पतालमा भएको भ्रष्टाचारबारे एक सातादेखि सञ्चारमाध्यममा समाचार आएपछि अख्तियारको टोलीले छापा मारेको हो।

आयोगको हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट सूचना अधिकारी देवकुमार राईको नेतृत्वमा बुधबार बिहान १० बजे गएको टोलीले केही कागजाता नियन्त्रणमा लिँदै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकसँग सोधपुछ गरेको छ। अख्तियारको टोलीले मेसु हकसँग पाँच घण्टा सोधपुछ गरेको छ।

सोधपुछका क्रममा मेसु हकले अस्पतालको औषधि खरिद प्रकृयामा कागज नै  हेरफेर भएको स्वीकार्य गरेका छन्। अख्तियारको टोलीले मेसुसहित अस्पतालका स्टोर प्रमुख दामोदर अधिकारी, ल्याब इन्चार्ज हिराबाबु पाण्डे, सचिन्द्र यादव र फार्मेसी ईन्चार्ज विजय यादवसँग पनि लामो समय सोधपुछ गरेको छ। सोधपुछका क्रममा औषधि खरिद प्रकृयामा भएको अनियमितताबारे फार्मेसी इन्चार्ज यादवले अख्तियारको टोलीसामु मेसुको सबै पोल खोलिदिएका छन्।

 बयान दिएर निस्केका यादवले संचारकर्मीसँग कुराकानीका क्रममा विगतमा भएका औषधि खरिद, केमिकल, मेसिन खरिदमा र कर्मचारी भर्नामा मेसु हकले व्यापक आर्थिक चलखेल गरेको जानकारी दिए। उनले भने,‘ यसको सम्पूर्ण जानकारी अख्तियारलाई गराएको छु।’ विभिन्न संचारमाध्यममा अस्पतालको अनियमिताबारे समाचार आएपछि मेसु हकले फार्मेसी इन्चार्ज यादवमाथि अस्पतालको सूचना चुहावट गरेको आरोप लगाउँदै अस्पतालबाट निस्कासन गरेका छन्। 

मेसु हकले करार कर्मचारीको म्याद थपे पनि आफ्नो म्याद नथपी अस्पतालबाट निस्कासन गरेपछि आफूले अनियमितताबारे अख्तियार सामु लिखित बयान दिएको यादवले बताए। अनुगमन पश्चात मेसु लगायत अन्य शाखा इन्चार्जसँग लिखित रुपमै बयान लिई मुचुल्का समेत अख्तियारले उठाएको छ।

अख्तियारको टोलीले अस्पतालमा रहेको ल्याब, लेखाशाखा, फार्मेसीलगायतको शाखामा पुगेर स्थलगत अनुगमन गर्नुका साथै त्यहाँको बस्तुस्थिती पनि निहालेका थिए। टोलीले अस्पतालको कागजपत्र पनि नियन्त्रणमा लिएको छ।  नारायणी अस्पतालमा रहेका करोडौं मूल्यका सामान कबाड घोषित गरेर कौडीको मूल्यमा बेचेको यसअघि खुलासा भएपछि अख्यितारले छापामारी गरेको हो। 

प्रतिक्रिया दिनुहोस्