आठौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपिएफलाई स्वर्ण



बाँके : सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदक जितेको छ। बाँकेको कोहलपुर क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३२ रनले पराजित गर्दै एपिएफले स्वर्ण पदक जितेको हो।

एपिएफले दिएको १ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिसले २० ओभरमा ९ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो। पुलिसको लागि कप्तान मन्जित श्रेष्ठले नटआउट २९ रन बनाए। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

यस्तै सुनिल धमलाले १५ र आरिफ शेखले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसलाई सस्तैमा समेटन एपिएफका ‘प्लेयर अफ द म्याच’ समेत चुनिएका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए। यस्तै बसन्त रेग्मी र शरद भेषावकरले २–२ तथा भुवन कार्की र अमरसिंह रौटेलाले १–१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। एपिएफका लागि ओपनर अनिल साहले सर्वाधिक ३१ रनको योगदान दिएका थिए।   ३० बलको सामना गरेका साहले ३ चौका प्रहार गरे।

त्यस्तै शंकर रानाले २३, भुवन कार्कीले ११ तथा शरद भेषावकर र सुमित महर्जनले समान ९–९ रन बनाए। पुलिसका लागि ललित नारायण राजवंशीले ३, सागर ढकालले २ तथा दिपेन्द्रसिंह ऐरी र  मन्जित श्रेष्ठले १–१ विकेट लिए। पुरुष क्रिकेटमा प्रदेश–१ लाई ६९ रनले हराउँदै आर्मीले कास्य पदक जित्यो।

प्रतिक्रिया दिनुहोस्