जनआन्दोलनका घाइते मुकेश तेह्र वर्षदेखि अर्धचेत



बनेपा : जनआन्दोलन विसं २०६२÷६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामै छन् ।

देशमा जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भइसकेको छ । तर लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होमिएका घाइतेको अवस्था भने उस्तै रहेको मुकेशका आमा मिरा कायस्थले बताइन् ।

वि.सं २०६२÷६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमै छटपटिरहेका छन् । आमा मीराले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उनको सुधार नभएको बताइन्  ।

उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकेको उनको भनाइ छ । “असारमा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ”, मीराले भनिन्, “मङ्सिरमा अप्रेशन गरे, खासै सुधार देखिएको छैन ।” मुखले खाने र हाँस्ने जस्ता काम अहिले गर्न नसकेको उनले बताइन् । 

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उहाँको भनाइ छ ।

उनका लागि स्वास्थ्य मन्त्रायलयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेशअन्तर्गत भएपछि भएको फेरबदल भएकाले एक वर्षयता नआएको मीराको गुनासो छ । 

मुखले पनि नखाने र हातखुट्टा पनि चल्नुपर्ने नचलेको आमा मिराले बताइन् । अहिले अक्सिजन दिइरहनुपर्ने अवस्था नभएको उनको भनाइ छ । मुकेश कायस्थ प्रतिस्ठानका मोहन दुवालले उनको नाममा मस्तिष्क घात पुनस्र्थापना केन्द्र स्थापनाका लागि पहल गरिरहेको बताए ।

“उनी जस्तै बिरामीको उपचारमा सहज होस् भनेर केन्द्र स्थापना गर्न माग गरिरहेका छौँ तर त्यो अगाडी बढिरहेको छैन”, उनले भने, “ठाउँको अभावले प्रक्रिया अगाडि बढ्न नसकेको कुरा छ ।” 

मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण बनाउन वि.सं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले संस्थागत रुपमा अगाडि बढाइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्