जिउँदो मान्छेलाई मृत घोषित गरेपछि…



कैलाली : डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा बुधबार भएको यात्रुबाहक बस दुर्घटना परि सामान्य घाइते भएका अमृत बोहरालाई अस्पतालले मृत प्रमाणित गरेको छ। दुर्घटनामा परेको ना६ख १८३१ नम्बर गाडीका चालक बोहरालाई उप–क्षेत्रीय अस्पताल डडेल्धुराले आफ्नो लेटर प्याडमा मृतक भनेर उल्लेख गरेको छ।

मृतक भनिएका चालक बोहरा सामान्य उपचारपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराको नियन्त्रणमा रहेको आफन्त डम्बर बोहराले जानकारी दिए। उनले यसरी जिउँदो मान्छेलाई अस्पताल जस्तो जिम्मेवार निकायले मृत प्रमाणित गर्दै सार्वजनिक गर्नु निन्दनीय कार्य भएको बताए।

यसरी गलत सूचना दिने अस्पतालका कर्मचारीविरुद्ध कारबाहीको माग गर्दै भोली नै मुद्दा हाल्ने भन्दै बोहराले आक्रोश व्यक्त गरे। यता उप–क्षेत्रीय अस्पताल डडेल्धुराका इन्चार्ज रामसिंह धामीले अस्पतालको लेटर प्याडमा कसरी र कस्ले मृत लेखेको भन्नेबारे आफूलाई जानकारी नभएको बताए।

धनगढीबाट बझाङतर्फ मंगलबार बेलुकी ४ बजे छुटेको यात्रुबाहक बस आज बिहान ५ बजे दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको ज्यान गएको छ भने २० भन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्