बँदेललाई थापेको धरापमा मान्छे, यसरी खुल्यो डरलाग्दो घटना



बुटवल : रुपन्देहीको तिलोत्तमा-११ मा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले बरादम गरेको शव तिलोत्तमा-११ भूपू सैनिक टोलका मिनबहादुर गौतमको हो । 

बँदेलले बाली खाएर सखाप पारेपछि स्थानीय पाँच युवाले थापेको धरापमा परेर गौतमको ज्यान गएको हो । ती युवाले वैशाख १ गते राति तिलोत्तमा र देवदह नगरपालिकाको सीमा रोहणी खोलामा विद्युतीय धराप थापेर रुखमुनि सुतेका थिए ।

भोलिपल्ट बिहान चार बजे गौतम त्यही बाटो हुँदै देवदहस्थित घर फर्किने क्रममा विद्युतीय धरापमा परे । धरापमा परेर गौतमको तत्कालै मृत्यु भयो । उनीसँगै एउटा बँदेल पनि धरापमा परेको थियो ।  ।

गौतमको ज्यान गएपछि तिलोत्तमा-११ का चन्द्रबहादुर थापा, नरबहादुर पुन, उपेन्द्रबहादुर शाह, अमर पुन र माइला भन्नेले गौतमको शवल देवदह-९ को मिलन सामुदायिक वन गाडेको खुलेको छ । 

गौतम हराएपछि परिवारले गत ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरमा निवेदन दिए । प्रहरीले अनुसन्धानका क्रममा तीन युवालाई सोधखोज गर्दा घटनाबारे खुलासा गरेका थिए । मंगलवार राति ११ बजे शव गाडेको ठाउँमा प्रहरी युवाहरुसहित पुग्यो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हृदय थापाले पाँच युवा पक्राउ परेको बताए । उनीहरूले ३ फिट गहिरो खाडलमा गौतमको शव गाडेका थिए । 

इलाका प्रहरी कार्यालय बुटवलमा डिएसपी डिलबहादुर मल्लले युवाहरुले घटना लुकाउन खोजेकाले फौजदारी संहिता अनुसार कारबाही हुने जानकारी दिए । गौतम त्यही वनका हेरालु थिए । उनका एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया दिनुहोस्