महिलालाई सोचेजस्तो सहज छैन अस्ट्रेलिया 



सबिना न्याैपाने

भविष्य सुनिश्चत गर्न तथा रहरै रहरमा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको संख्या दिनदिनै बढ्दै छ। यसरी बिदेसिनेमा कक्षा १२ को पढाइ सकेका धेरै हुने गरेका छन्। तिनमा १७ देखि २५ वर्ष उमेर समूहका युवायुवती बढी छन्।

उच्च शिक्षा हासिल गर्न होस् वा पढ्ने बहानामा विदेश भासिने रहर हरेक पढेलेखेका युवायुवतीमा पलाउँदै छ। ०७४ साल वैशाखदेखि ७५ साल असारसम्मको तथ्यांक मात्र हेर्ने हो भने ६९ हजार ६ सय २३ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट विदेशमा पढ्नकै लागि जान भनी अनुमति लिएका छन्।

त्यसमध्ये आधाभन्दा बढीको गन्तव्य अष्ट्रेलिया हुने गरेको पाइएको छ। एक वर्षमा अस्ट्रेलिया जान अनुमति लिनेहरुको संख्या सरदरमा ३७ हजार ५ सय ५५ जना रहेको पाइन्छ। नेपाली विद्यार्थीहरुको अष्ट्रेलिया आकर्षण केन्द्र बन्नुमा भिसा प्रक्रियामा सहजतादेखि कामको उपलब्धता पनि हो। 

सन् २००८ देखि २०१० सम्म अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागि भिसा प्रक्रिया केही सहज थियो। यसै समयमा २३ हजार नेपाली विद्यार्थी भित्रिएका तथ्यांकले देखाएको छ। सन् २०११ को अन्तिमसम्म २७ हजार १ सय ५५ नेपाली अस्ट्रेलिया भित्रिसकेका थिए।

सन् २०१८ को अन्त्यसम्म यो संख्या बढेर ६२ हजार नाघिसकेको अस्ट्रेलियास्थित नेपाली दूतावाससँग रहेको तथ्यांकले देखाएको छ। यो संख्या कानुनी प्रक्रियाको बाटो भएर अस्ट्रेलिया प्रवेश गर्नेको मात्र हो। यसबाहेक अवैधानिक प्रक्रिया भएर अस्ट्रेलिया प्रवेश गर्नेको संख्या खासै नरहेको दूतावासले जनाएको छ। 

यो विश्वकै सुरक्षितमध्ये एक मुलुक हो। गुणस्तरीय शिक्षा त छँदैछ राम्रो र सुरक्षित बसोबाससमेत भएको देशमा गनिन्छ। यस्ता धेरै कारणले नेपाललगायत देशबाट अध्ययनका लागि अस्ट्रेलिया जाने विद्यार्थीको संख्या उच्च छ।विदेशी विद्यार्थीहरुको अस्ट्रेलियाप्रतिको आकर्षणले यो मुलक अझ धेरै चर्चित र प्रख्यात बनेको छ। हरेक क्षेत्रमा दक्खल भएका जनशक्ति यस देशले उत्पादन गरिरहको छ।

नेपालीलाई कत्तिको सहज छ ?

अस्ट्रेलिया जान सामान्यतया अंग्रेजी नै जान्नुपर्छ। त्यसका अलावा आफूले पढेको विषयले पनि धेरै अर्थमा महत्व राख्छ। आईएलटीस परीक्षाको माध्यम नै सबैभन्दा उत्तम विकल्प मानिन्छ। जसमा तोकिएको अंक प्राप्त गरेपछि त्यहाँका विश्वविद्यालय या मान्यताप्राप्त कलेजमा आवेदन दिन सकिन्छ। अंगे्रजी भाषमा सामान्यतया कक्षा १२ को परीक्षा सकेकाले ६ र स्नातक तह सकेकाले साढे ६ ल्याउनु उपयुक्त मानिन्छ। 

महिलालाई कति सहज ?

अस्ट्रेलिया पढ्न जानेमा महिलाको संख्या पछिल्लो समय उल्लेख्य रुपमा बढेको छ। करिअर बन्ने लोभ र रहर दुवैले अस्ट्रेलिया गन्तव्य बनेको छ। काम, इज्जत, पैसा या यस्तै कारणले विदेश उनीहरुको रोजाइ बन्ने गरेको छ। दुख गरेर काम गर्दा पनि नेपालमा भन्दा उता राम्रो पैसा कमाउन सकिने विद्यार्थीहरु बताउँछन्।

भविष्यमा नेपाल फर्कनु नपर्ने, पीआरलगायत त्यहीँको स्थायी बसोबासको व्यवस्था हुने, जीवनयापन सहज, सुरक्षित आदि कारणले नेपाली छात्राहरुको रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ। यसरी अस्ट्रेलिया पढ्न जाने नेपाली महिलाहरुको संख्या पनि पछिल्लो समय निकै बढ्न थालेको हरेक वर्षको तथ्यांकले देखाउँछ।

 

 

कस्तो छ नेपाली महिलाको अवस्था ?

नेपालको कंलकी घर भई ५ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा श्रीमानसँगै बस्दै आएकी अर्पना रिजाल भन्छिन्, ‘मेरो त बसाइ रमाइलो नै छ। म यता आउँदै श्रीमान् राम्रैसँग सेटल भइसक्नुभएको थियो। त्यसैले मैले सर्घष गर्नुपरेन।’ अस्ट्रेलियामा मान्छेहरुले भनेजस्तो दुःख नभएको उनी बताउँछिन्। 

उनले थपिन्, ‘चार वर्षअघि देवर देउरानी पनि ब्याचलर सकेर आएका थिए। सुरुसुरुमा त काम गर्न अप्ठयारो थियो, उनीहरुले धेरै मेहनेत पनि गरे। अहिले आफ्नो पढाइअनुसार काम पाएका छन्। उनीहरु आफ्नै नाममा सम्पति बनाउने तरखरमा छन्।’

समय पुगेपछि सबैले पीआर पाइने त्यसका लागि सामान्य दुःख जहाँ पनि गर्नै पर्ने उनको तर्क छ।  केटीहरुका लागि यहाँको नियम कानुन कडा भएको उनी बताउँछिन्। नेपालबाट आएर बढी स्वतन्त्रता पाएँ भन्दैमा जे पायो त्यही गर्न चै नहुने उनी सुझाउँछिन्। 

त्यस्तै अस्ट्रेलियामै भविष्य बनाइरहेकी अर्की हुन् निकिता मिश्र। झापा घर भएकी उनले एचए (हेल्थ असिस्टेन्ट) अध्ययन पूरा गरेकी छन्। उनी अस्ट्रेलिया पुगको ७ महिना भयो। उनको तर्क भने केही फरक छ। भन्छिन्, ‘यता निकै गाह्रो छ, आफ्नो मान्छे नहुनेलाई झन् गाह्रो छ।’ उनले आफूले पाएको दुःख पनि बेलिविस्तार लगाइन्, ‘मलाई एक महिना लागेको थियो, कतिपय साथीहरुले त २/३ महिनामा मात्र काम पाए। यसमा त म आफूलाई भाग्यमानी नै सम्झन्छु।’

विश्वविद्यालय र कलेजको फी महँगो भएको र कामले गर्दा कलेजले दिएको असाइन्मेन्ट गर्न पनि नभ्याइने बताउँछिन्। पढ्ने सपना बोकेर अस्ट्रेलिया पुगेका र कुलतमा फसेर बिग्रने पनि पछिल्लो समय बढ्दै गएका छन्। असुरक्षित काममा लाग्ने। मुख्य उद्देश्य छाडेर पैसाको पछि कुद्नाले कतिपय नेपाली विद्यार्थी फिर्ता या त्यहाँको जेलसम्म पुगेका छन्।

त्यस्तै ३ महिनाअघि सिड्नी पुगेकी ओखलढुंगा घर भएकी अनुष्का दाहाल श्रेष्ठ स्नातक तहसम्मको पढाइ पूरा अस्ट्रेलिया पुगेकी हुन्। उनी पनि अस्ट्रेलियामा भनेजस्तो काम पाउन गाह्रो भएको र बसाइ पनि दुखमय रहेको बताउँछिन्। असुरक्षित नभए पनि सुरुमा संघर्ष गर्न एकदमै गाह्रो हुने उनको भोगाइ छ। 

उनी भन्छिन्, ‘यहाँ केटी होस् या केटा असुरक्षित चै बरु नेपालीबाटै हुन सक्छन्। काम लगाइदिन्छु भनी नजिक हुन खोज्छन् र ठग्छन्। त्यसैले आफै होसियार हुनु पर्छ।’ 

काभ्रे घर भएकी अश्मी मगर (वर्ष १९) सानैदेखि आमाबुबासँगै काठमाडौंमै हुर्किन्।  उनी अस्ट्रेलिया गएको भर्खर ३ महिना पुग्दै छ। उनी भन्छिन्, ‘यहाँ हुँदा आफैं आत्मनिर्भर हुन मन लाग्यो। सधैं कति परिवारको भरमा बाँच्ने भनेर करिअर राम्रो हुने र पैसा कमाइ हुनेजस्तो लागेर आएँ।’

मगरको बुझाइअनुसार अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई सेटल हुन गाह्रो छ। त्यसमा पनि छात्राहरुलाई झनै अप्ठेरो हुने उनको भोगाइ छ। भन्छिन, ‘सेटल हुन सकिन्छ भनेर आको, अति ग्राहो रैछ। मेरो त झन यहाँ कोही थिएन्। सँगै आउने साथीले अझै काम पाएका छैनन्। मैले त यहाँ आएर सरसफाइ र अन्य साना काम पाइन्छ भन्ने सोचेरै आएको थिएँ।’

सुरुमै घुम्ने कुर्सीमा बसौँला भन्ने सोच्नेले नेपालमा बेसेर घरकै कुर्सीमा घुमे हुने उनले बताइन्। 

आफ्नै थुप्रै केटी साथी भएका र प्रायले काम नपाएका उनले बताइन्। केटीहरुलाई नराम्रो काममा अफर गर्ने हुने भन्दै उनले त्यसबाट आफू जोगिन सुझाइन्। भन्छिन्, ‘घरबाट धेरै लगानी गरेर आएका हुन्छन्। कमाएर फी तिर्न ग्राहो हुन्छ। अझै घर पनि पठाउनुपर्ने बाध्ययता हुन्छ। उताबाट ल्याएको पैसा छिट्टै सकिन्छ। काम पाइदैन। घरी घरी घरमा भन्न पनि लाज हुन्छ। यही कारणले नराम्रो काममा लाग्ने हुन्छन्। 

पढ्न विदेश आउने जोकोहीलाई मिश्रको सुझाव छ – कोही पढ्न आउँदै हुनुहुन्छ भने जुनसुकै परीस्थिति सामना गर्न सक्छु भनेर मात्र आउनुहोला। यँहा सोचेको जस्तो सजिलो छैन। महँगो युनिर्भसिटीमा आउने हो भने विवाह गरेर मात्र आउनुस्। घरबाट पैसा पठाउन सक्ने हो भने छुट्टै कुरा हो। ग्राह्रो छ यहाँ अहिले तर भविष्य राम्रो छ।'

उनले त सकेसम्म पैसाको लोभ देखेर नआउन आग्रह गरिन्। भनिन्, ‘मलाई पनि घरीघरी त बेकार आएजस्तो लाग्छ। आफ्नो मान्छे भएको सहरमा आए राम्रो हुन्छ। मेरो जस्तो सानो उमेरमा आउने लाई झन ग्राहो छ।’   

प्रतिज्ञा आरएल शाहको घर काठमाडौंको बाफल हो। ९ महिनाअघि उनी एमपीए गर्न अस्ट्रेलिया पुगिन्। श्रीमान सँगै छन्। भन्छिन्, ‘म हप्तामा २० देखि २८ घण्टासम्म काम गर्छु। उहाँ चै ४० घण्टा काम गर्नु हुन्छ। उहाँको तलब राम्रो छ मेरो चै काम राम्रो सजिलो छ। तर कमाई कम छ। खुसी नै छु। मेहेनत धेरै गर्नुपर्छ। आत्मनिर्भर हुन सकेको छु।’

 

तर महिलाका लागि भने अस्ट्रेलिया एकदमै राम्रो र सुरक्षित देश भएको उनको तर्क छ। भन्छिन्, ‘नेपालमा जस्तो डर मान्नु पर्दैन। राति १२ बजे पनि ढुक्क भएर हिँड्न सकिन्छ। कानुन कडा छ त्यसरी डर मान्नुपर्ने स्थिति छैन।’ एक्लै आउने प्रायः छात्राहरुलाई ग्राहो हुने र कलेज फी देखि सबै खर्च आफैं जुटाउनुपर्ने हुँदा विवाह गरेरै आउन उनकाे सुझाव छ।

प्रतिक्रिया दिनुहोस्