काल बन्दै सूर्तीजन्य पदार्थ सेवन, रोकथाममा चुनौती



काठमाडौं : नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगबाट बर्सेनि २७ हजारभन्दा बढीको ज्यान जाने गरेको सरकारी तथ्यांकले नै बताउने गरेको छ। तथ्यांकअनुसार नेपालमा वार्षिक १८ अर्ब खिल्ली चुरोट बिक्री वितरण हुँदै आएको छ। 

न्यूनतम एक खिल्ली चुरोटको १५ रुपैयाँका दरले वार्षिक कम्तीमा २ सय ७० अर्बभन्दा बढी रोग निम्त्याउन खर्च भएको देखिन्छ। नेपालमा बर्सेनि एक लाख जना सूर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्ने रोगका नयाँ बिरामी भेटिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुस्करराज नेपालले जानकारी दिए। साथै सरकारले दिने गरेको असहाय नागरिक सहायता कोषमा रकम माग गर्न आउने पनि अधिकांश सूर्तीजन्य पदार्थ सेवनका रोगी नै रहेको उनी बताउँछन्। 

सेवनकर्ता मात्र नभई आसपासमा बस्नेलाई झन् बढी देखिने चिकित्सकहरु बताउँछन्। 

सार्वजनिक ठाउँमा हुने धुम्रपानले त झन् यसको मात्रा बढाएको देखाउँछ। सरकारले सार्वजनिक ठाउँमा हुने धुमपान रोक्ने उद्देश्यले बेलाबेलामा कडा कदम चालेपनि त्यो प्रभावकारी हुन सकेको छैन। बसपार्क   बाटोघाटो, अस्पताल, विद्यालय क्षेत्र वरपर खुलेआम सूर्तीजन्य पदार्थ बिक्री वितरण रोकिएको छैन। 

सेवनकर्ताका कारण अरुमा पर्ने असरलाई नियन्त्रण गर्न महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा वैशाख २९ गतेदेखि काठमाडौँका अस्पतालभित्र र बाहिर सूर्तीजन्य पदार्थको प्रयोग वा बेचबिखनमा रोक लगाएको छ। 

के भन्छन् स्वास्थकर्मी ? 

क्यान्सर रोग विषेशज्ञ डा कपेन्द्र शेखर अमात्य सूर्ती तथा सूर्तीजन्य पदार्थ सेवनको कारण झन् झन् स्वास्थ्यसम्बन्धी जोखिम बढ्दै गएको बताउँछन्। धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ। गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन्। 

सूर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले सूर्तीजन्य पदार्थले मुटुलाई मात्र नभई शरीरका सबै अंगलाई असर गर्ने बताए। ‘सूर्तीजन्य पर्दाथको सेवनले शरीरको सम्पूर्ण अंगलाई असर गर्छ भने जुनसुकै दीर्घ रोग लाग्न सक्छ,’ उनले थपे, ‘दम रोग १३ गुणा बढिरहेको छ, हृदघात हुने मानिसमा १४ प्रतिशत कारण सूर्तीजन्य पदार्थको छ।’

 

सरकारको रणनीति कर बढाएर प्रयोगमा कमी 

सरकारले सूर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कर बढाएको छ। मदिरा चुरोट र अन्य सूर्तीजन्य पदार्थजस्ता स्वास्थ्यका लागि हानिकारक वस्तुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्कमा सामान्य वृद्धि गरेको छ।

यसबाट पनि यस्ता वस्तुको प्रयोगमा कमी आउने सरकारी अपेक्षा छ। आयात हुने र स्वदेशी चुरोट बिँडी, सिगारमा प्रतिखिल्ली २५ पैसा स्वास्थ्य जोखिमकर उठाइने उल्लेख छ। त्यस्तै खाने सूर्ती, खैनी, गुट्खा, पानमसलामा प्रतिकिलो २५ रुपैयाँका दरले समदरमा स्वास्थ्य जोखिम कर लगाइएको छ। विश्व स्वास्थ्य संगठनले समेत नेपालले सूर्तीजन्य पदार्थको करको दर कम्तीमा ७५ प्रतिशत पु-याउनुपर्नेमा जोड दिँदै आएको थियो। 

सूर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐनमा के व्यवस्था छ?

सरकारले सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न विसं २०६८ मा ऐन ल्याएको ८ वर्ष पुगेको छ। ऐन कार्यान्वयन भने अझै हुन सकेको छैन।  सार्वजनिक स्थलमा कसैले धूमपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचबिखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्रीवितरण गर्नुपर्ने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सूर्तीजन्य पदार्थ बिक्री गर्नुपर्नेलगायत व्यवस्था ऐनमा उल्लेख छ। 

त्यस्तै सूर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सूर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुनेलगायत कुरा पनि ऐनमा लेखिएको छ। 

कसैलाई असर पर्नेगरी घर तथा निजी सवारी साधनभित्र धूमपान गर्न नपाइने, सार्वजनिक स्थलको आवश्यकताअनुसार विभिन्न ठाउँमा धूमपान तथा सुर्ती सेवन गर्न नपाउने व्यहोरोको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नुपर्नेछ। 

सम्बन्धित कार्यालयमा व्यवस्थापकले आफ्नो कार्यालय क्षेत्रमा सूर्तीजन्य पदार्थ सेवनको सूचना टाँस नगरी यसरी सूर्तीजन्य पदार्थ खाएको पाइएमा जिल्ला प्रशासन कार्यालयले ५ हजारसम्म जरिवाना गर्न पाउने ऐनमा उल्लेख छ। सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी तथा पार्सल, प्याकेजिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०७१ मा पनि जारी छ।  

सार्वजनिकस्थल भन्नाले राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौैचालय, उद्योग कलकारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, रिसोर्ट, रेस्टुरेन्ट बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी, पुल हाउस डिपाटमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारी प्रतीक्षालय तथा टिकट काउन्टरलाई बुझ्नुपर्ने हुन्छ। 

यस्ता क्षेत्रमा कसैले सुर्तीजन्य पदार्थ सेवन गर्न पाइँदैन भनेर ऐनमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्