रातो मच्छिन्द्रनाथको रथ लगनखेलमा (फोटो फिचर)



ललितपुर : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ यतिबेला लगनखेलमा राखिएको छ। लगनखेलको ठटीबाट जावलाखेलतर्फ लगिने साइत जेठ २३ गते जुरेको छ।

यही दिन रथ जावलाखेलमा आउन सक्यो भने भोटो देखाउने साइत जेठ २६ गते पर्नेछ। २३ गते साँझ जावलाखेलमा रथ पु-याउने गरी नै पूर्व तयारी भइरहेको गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलले बताए।

रथ जावलाखेल लगिएकोे चौथो दिनमा भोटो देखाउने प्रचलन छ। भोटो प्रदर्शनपछि मच्छिन्द्रनाथलाई तामदानीमा राखेर बुङ्गमतीमा लगिएसंगै जात्रा समापन हुन्छ।

वैशाख २२ गते वैशाख शुक्ल प्रतिपदा तिथि पारेर रातो मछिन्द्रनाथको मूर्तीलाई रथारोहण गराइएको थियो। २२ गते रथारोहण भएपछि त्यसको चार दिनपछि अर्थात् २५ गते रथयात्रा सुरु भएको हो।

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी पर्दा मच्छिन्द्रनाथको प्रवेशले

सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येक वर्ष लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ । १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुआत गराएको किंवदन्ती छ ।

 

प्रतिक्रिया दिनुहोस्