हिँड्न नसकिने राजधानीका सडक, महानगरलाई भने वास्तै छैन



काठमाडौं : पैदल हिँड्नु स्वास्थ्यका लागि फाइदा रहने चिकिल्सकहरुले बताउँदै आएका हुन्छन्। हरेक घरका अभिभावकले पैदल हिँड्नुपर्छ भनेर आफ्ना बालबच्चालाई पनि सिकाइहेका हुन्छन्। कति मानिस दिनहुँ कार्यालय अथवा, नजिक कतै जान पर्‍यो भने पैदल जान रुचाउँछन्। एक त स्वास्थ्यलाई फाइदा अर्को पैसाको बचत । अनि घण्टौं जामको पर्वाह पनि नहुने तर विडम्बना देशकै राजधानी काठमाडौँमा पैदलयात्री भने असुरक्षित छन्।

दिनहुँ हिँड्दा स्वास्थ्यमा फाइदै हुन्छ। हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा। अमरेन्द्र झा भन्छन्, ‘हिँड्दा शरीरमा रगत जम्न पाउँदैन र मुटुरोग पनि लाग्न पाउँदैन। शरीर मोटो छ भने त्यसका लागि पनि यो उपयुक्त उपचार जस्तै हो।

हिँड्ने जस्तै हल्का दौडदा मुटको चाल छिटोछिटो बढ्छ र हिँडाइको तुलनामा चिल्लो पदार्थलाई धेरै पगाल्छ। यसले शरीरको क्यालोरीको मात्रालाई छिट्टै पगाल्न सहयोग पु¥याउँछ। त्यस्तै हड्डी बलियो हुने, फ्रेस बनाउने, मानसिक थकान कम गर्ने, शरीर बलियो बनाउने, जोर्नीमा फाइदा, श्वासप्रश्वासमा सुधार, अल्जाइमर खतरा कम गर्नेलगायत फाइदा पुग्छ।

तर उपत्यकामा पछिल्लो समय पैदल यात्रीहरूको दुर्घटनादर बढेको देखिन्छ। विशेषगरी सवारी चालकको मनोमानी, अव्यवस्थित पार्किङ, खाल्डाखुल्डी परेका सडक, जेब्राक्रसिङ, आकासेपुल तथा ट्राफिक लाइटको कमी, जथाभावी पसल सञ्चालन आदि कारण पैदल यात्री जोखिममा छन्। 

काठमाडौँ उपत्यकालाई देशकै व्यस्त र अव्यवस्थित सहर भनेर टिप्पणी भइरहँदा पनि अध्ययन र रोजगारीको सिलसिलामा काठमाडौँ आउनेहरूको संख्यामा भने कमी भएको आएको छैन।

उपत्यकामा बन्दै गरेका सडकहरू, जथाभावी थुपारिएका गिट्टी बालुवा तथा सिमेन्ट, धुलो, हिलो र बढ्दो सवारी साधनको जाम र साँघुरा सडकपेटीमा हुने गरेको व्यापारले पनि पैदल गर्दा पैदल यात्रीहरू अनेकन समस्याबाट गुज्रिरहेका बताउँछिन् उदयपुर स्थायी घर भई हाल कोटेश्वर बस्दै आएइकी अमृता पोखरेल।

पैदल हिँडिरहेको समयमा ठेल्दै तथा धकेल्दै हिँड्ने, खुट्टा कुल्चिदिन त्यसैगरी व्यापारीले सडक पेटीमा पसल गर्दिने अथवा पेटीबाट सवारीसाधन चलाउनेलगायत पीडाबाट गुज्रनुपरेको उनी दुखेसो पोख्छिन्। त्यतिमात्र हैन सडकमा माग्न हिँडेका बालबालिकाले समेत साह्रै दुःख दिने उनी गुनासो गर्छिन्। उनी थप्छिन्, ‘त्यसबाट पनि पैदल हिँड्न दिक्क लाग्छ।’

रोजगारीका लागि काठमाडौँ आएका उमेश सिलवाल हिँडडुल तथा घुमघाम गर्न निकै कठिन भएको बताउँछन्। ‘चारैतिरको धुलो तथा हिलो, अत्यधिक जाम र सवारी साधनको तीव्र गतिले सडकछेउ भएर हिँड्न कठिन छ।

जताततै घर बनेका बन्यै छन्, भनेजति सडकको क्षेत्र छैन, यसमा कसैको ध्यान पुगेकै छैन,’ उनले प्रश्न गरे, ‘पैदल यात्रुलाई विशेष ध्यान दिएर सडक बनाउनुपर्ने होइन र रु’

महानगरपालिकाले काठमाडौँलाई स्मार्ट सिटी बनाउने भन्दै घोषणा गरेको लामो समय बितिसक्दा पनि सहर भने अस्तव्यस्त नै छ।

 

 

प्रतिक्रिया दिनुहोस्