मिसन नेपालको नाममा धम्क्याएर स्कुल सञ्चालन



वीरगन्ज : मिसन नेपाल पर्साका अध्यक्ष विराज यादवले अनुमतिबिनै धम्कीको भरमा स्कुल सञ्चालन गर्दै आएको द नेपाल टपको टिमले फेला पारेको छ। उच्च कक्षा संचालनको अनुमतिबिनै सयौं विद्यार्थीको भविष्य उनले अन्धकार बनाइरहेका छन्।

यादवले वीरगन्ज ३ प्रगतिनगरमा सञ्चालन गरेको सूर्योदय इंग्लिस बोर्डिङ स्कुल प्रालिले बिनाअनुमति कक्षा ८ सम्म सञ्चालन गरिहेको भेटिएको छ। स्कुलले गत आर्थिक वर्षमा कक्षा ३ सम्म मात्र पठनपाठनको अनुमति पाएको थियो। 

सुरुमा कक्षा २ सम्म मात्र पठनपाठनको अनुमति पाएको उक्त स्कुलले गत आर्थिक वर्षमा वीरगन्ज महानगरपालिकाको शिक्षा नियमावली २०७४ को निमय ४ बमोजिम पूर्वाधार पूरा गरेको भन्दै कक्षा तीनसम्म सञ्चालनको अनुमति पाएको थियो। तत्कालीन शिक्षा शाखा अधिकृत मन्जुर आलमले स्कुललाई पठनपाठनको अनुमति दिएका थिए। 

तर स्कुलले गत वर्षदेखि कक्षा ८ सम्म नै पढाउँदै आएको छ। विद्यालयमा अनुगमन गर्न गएका शिक्षा महाशाखाका प्रतिनिधिलाई उल्टै ‘मिसन नेपाल’ पर्साको अध्यक्ष हुँ भनी धम्क्याएर पठाउने गरेको खुल्न आएको छ। 

अनुगमनमा गएका महानगरका शिक्षा महाशाखाका प्रतिनिधि सन्तोष साहले भने, ‘उहाँले बढी फुर्ती नदेखाऊ म मिसन नेपालको अध्यक्ष हुँ भने,’ उनले थपे, ‘खल्तीमा १० हजार रुपैयाँ राखेर अख्तियार बोलाएर फसाइदिने धम्की दिए।’ साहले यादवको धम्कीलाई चुनौती दिँदै अनुगमन क्रममा कक्षा ३ बाहेक अन्य सञ्चालन गरेको कक्षाको हाजिरीसमेत नियन्त्रणमा लिन सफल भएका थिए। 

अध्यक्ष यादवले अटेर गरेपछि वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले सूर्योदय इंग्लिस बोर्डिङ स्कुलका सञ्चालकलाई अनुमतिबिना किन पठनपाठन गराएको भन्दै लिखित जवाफसहित उपस्थित हुन पत्रसमेत काटेका थिए। 

शिक्षा महाशाखाका प्रमुख कर्णले २०७५ माघ १० गते स्कुललाई लिखित जवाफसहित उपस्थित हुन पत्रचार गरेपछि उनले अटेर गर्दै १४ दिनपछि अर्थात २०७५ माघ २४ गते लिखित जवाफसहित उपस्थित भएका थिए। अध्यक्ष यादवले शिक्षा महाशाखामा बुझाएको लिखित जवाफमै आफूले कक्षा ३ भन्दा बढी कक्षा सञ्चालन गरेको स्वीकार गरेका छन्। 

उनले पत्रमा अभिभावकको आग्रहमा अनुमति लिएको उल्लेख गरेका छन्। साथै थप कक्षासमेत सञ्चालन गर्न प्रयासरत रहेको उक्त पत्रमा लेखे पनि अगामी आर्थिक बर्षदेखि अनुमतिबेगर कक्षा सञ्चालन नगर्ने प्रतिबद्धतासहित आफू उपस्थित भएको उनले बताएका छन्। 

स्रोतका अनुसार शिक्षा महाशाखाले आर्थिक लेनदेनमा  उनलाई कारवाही गरेको छैन। मिसन नेपालको नाममा अध्यक्ष यादवले शिक्षा महाशाखालाई आर्थिक प्रभावमा पारेको र कारवाहीबाट उम्किन खोजेको उनीमाथि आरोप लाग्न थालेको छ। 

यस विषयमा शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णसँग जिज्ञासा राख्न खोज्दा सम्पर्क हुन सकेन। स्थानीय तहको पुनर्संरचनापछि विद्यालय निरीक्षण र कारबाही गर्ने अधिकार स्थानीय तहमा गएकाले यस्ताखाले समस्या देखिन थालेको स्थानीय बुद्धिजीवीहरु बताउँछन्। ‘मिसन नेपाल’ नामक संस्था खडा गरी भ्रष्टाचार र अपराधविरुद्ध लड्ने संस्थाका पदाधिकारी कत्तिको नैतिकवान् छन् त यसबाट पुष्टि भएको छ। 

प्रतिक्रिया दिनुहोस्