होसियार ! विषादि प्रयोगमा ध्यान दिनुस् 



काठमाडौं : कोटेश्वर बस्ने शर्मिला बोगटी गर्मीमा बढ्ने कीराहरुको संक्रमण र प्रकोपबाट दिक्क छिन्। उनलाई विशेषगरी भान्साघरमा साङ्लाको बिगबिगीले सताएको छ। शौचालय, शयन कक्ष जताततै साङ्ला दौडिने गरको देख्दा उनी हैरान छिन्।

केही दिनअघि मात्र उनले किराना पसलबाट साङ्ला मार्ने औषधि ल्याएर घर वरपर, भान्सा, शयन कक्ष सबैतिर विषादि छर्किन्। जसले केही दिन त किराको समस्याबाट मुक्ति त मिल्यो, तर यो दिगो समाधान भने होइन।

जथाभावी औषधि किन्न नपाइएला कि भनेको तर जहाँपनि पाइँदो रहेछ।‘किनेर कसरी प्रयोग गर्ने, हामीलाई असर गर्छ कि गर्दैन भनेर त सोधें। तर केही असर गर्दैन, प्रयोग गर्ने तरिका पनि सिकाए’, बोगटी भन्छिन्, ‘खै आफूलाई त केही थाहा छैन,पढेको पनि छैन। उनीहरुले जे भन्यो त्यही गर्ने त हो हामीले। औषधि प्रयोग गर्दा टाउको दुखेर रिंगाटा चलेजस्तो चाहिँ भएको थियो।’

गर्मी बढेसँगै किरा फट्यांग्राको प्रकोप अन्य समयभन्दा स्वाभाविक रुपमा बढी हुने गर्छ। खासगरी यो समयमा किरालगायत साना जीवजन्तुको प्रजनन् क्षमता विकास हुने, गर्मी मौसम किराजस्ता जीवका लागि अनुकूल समय हुने हुँदा पनि यसबेला यस प्रजातिका प्राणी यो समयमा विकसित हुने गर्छन्।

त्यसैकारण यो मौसममा किराहरुले अत्यधिक सताउने गर्छ। घरभित्र बाहिर सबै ठाउँमा किरा उत्तिकै देखिने गर्छन्। झिँगा, साङ्ला, मुसा, उपियाँ, उडुस, माकुरा, लामखुट्टे, बिच्छी, सर्पजस्ता किराहरुले गर्मी महिनामा बढी सताउने गर्छ।

यसरी किराको प्रकोप र यसको समस्याबाट मुक्ति पाउने उपाय पनि छन्। तर आम मानिसले विषादिको प्रयोगलाई बढावा दिइरहेका छन्। यस्ता कीराको प्रकोप र यसलाई रोक्न प्रयोग गरिने विषादिबाट भने हामी निकै होसियार रहनुपर्छ।

विषादि पाइने सम्बन्धित स्थान तोकिएको एग्रोभेट हो। तर कोटेश्वरका अर्जुन ढकाल पनि डिपार्टमेन्ट स्टोर अथवा नजिकैको किराना पसलमा यो सामान किन्न पुग्छन्। भन्छन्, ‘सबैतिर एग्रोभेट पाइँदैन, जहाँ पाइयो त्यहीँ किन्ने गरेको छु।’

आफ्नो स्वास्थ्यप्रति कत्ति पनि सचेत नभइकन उनले थपे, ‘एगा्रेभेट खोज्दै को हिँडोस्, फेरि कडा खालको पनि पाइदैन।’ कडा खालको विषादि प्रयोग गर्दा किरा मर्ने उनको विश्वास छ।  त्यसैले बाहिरकै पसलबाट किन्ने गरेको उनी बताउँछन्।

यसरी जथाभावी विषादि बिक्री गर्न नपाइने पहिलो शर्त हो, त्यसमाथि यसको प्रयोगबारे प्रयोगकर्ता अनभिज्ञ छन्। अन्धाधुन्ध तरिकाले विषादिजन्य वस्तुहरु प्रयोग गरिहरेका छन्। जसले गर्दा नमार्नुपर्ने किराहरु पनि मरिहरेका छन्। पर्यावरण सन्तुलनमा यसले ह्रास ल्याइरहेको छ। यसप्रति बेलैमा सजग हुनुपर्छ। 

यसखाले विषादि खाद्यान्न तथा किराना पसलमै बेचिएको पाइन्छ। जुन स्वास्थ्य र कानुनी दुवै कारणले ठीक होइन्। घरका कीरा मार्न अधिकांशले रसायनयुक्त जेल, स्प्रे, पाउडर आदि किराना पसलबाटै किन्न थालेका छन्। पसलेहरुले पनि बिक्री हुने र केही पैसाको लोभमा मानव स्वास्थ्यमा खेलबाड गरिरहेका छन्। अझ भनौं उनीहरुले हाम्रो वरिवरिको वातारणसँग खेलिरहेका छन्।

मानवको समस्या मुक्ति गर्ने नाउँमा विषादिको प्रयोगबाट कीरा, फट्यांग्राको संख्या कम गर्नु कुनै महान्ता होइन्। यो त वातावरणप्रतिको खुलखुला चुनौती भएको बताउँछन् वातावरणविद्। किरा फट्यांग्रा रोकथापका लागि कीटनाशक औषधिको साटो सफाइमै जोड दिनुपर्ने चिकित्सकले बारम्बार रटान लगाउँदै आएका छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय प्लान्ट क्वारेन्टाइन एवं विषादि व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण अधिकारीले यस्ता विषादि जथाभावी प्रयोग भइरहेका पाइए कारवाही गर्ने बताए।

विषादिको कमभन्दा कम र उचित प्रयोगका लागि विभिन्न सञ्चारमाध्यमबाट पहल गरिरहेको पनि उनले बताए। देश संघीय संरचनामा गएकोले पनि यससम्बन्धी कडाइ गर्न नसकेको उनले बताए।

भने, ‘यहाँ समस्या बेच्नेसँग मात्र होइन। मनलाग्दी किन्ने र मनलाग्दी मात्रा तथा समयमा प्रयोग गर्ने उपभोक्तामा पनि छ। अहिलेसम्म त्यति धेरै उग्रै रुपले असर गरेको छैन।’ अब स्थानीय सरकारसँग समन्यव गरेर यसबारे कडाइ गर्ने उनले जानकारी दिए।

महानगरभित्र इन्डोर पेस्ट (शत्रुजीव) मार्ने विषादि जथाभावी बिक्री वितरण भइरहेको प्लान्ट क्वारेन्टाइन एवं विषादि व्यवस्थापन केन्द्रका प्रमुख डा डिल्ली राम शमाले स्वीकारे। लाइसेन्सको व्यवस्था गरेर मात्र जथाभावी बिक्री वितरण रोक्न सकिने उनी बताउँछन्।

उनका अनुसार यसप्रकारका बस्तु बेच्नकै लागि काठमाडौं महानगरमा करिब ५० वटा पसल सञ्चालनमा छन्। तर दर्ता भएकाचाहिँ १५ वटा मात्र छन्। विषादि प्रयोग गर्दा चस्मा,माक्स,पन्जालगायत सामान प्रयोग गर्न स्वास्थ्यविदले सुझाउने गर्छन्। विषादि प्रयोग गरेपछि कोठबाट केही समय बाहिरिन पनि उनीहरुले सुझाउने गरेका छन्।

त्यसैगरी विषादिजन्य वस्तुको प्रयोगबाट खानेकुरा टाढै राख्नुपर्छ। प्रयोग गरिएको कोठाभित्र पस्दा झ्याल,भेन्टिलेसन, ढोका खोलेर जानुपर्छ। विषादि प्रयोग गम्भीर प्रकारको हुने हुँदा यसले बेलाबेलामा टाउको दुख्ने, बान्ता हुने, घाँटी दुख्नेलगायत समस्या ल्याउन सक्छ। त्यसकारण यसको प्रयोगका निकै सावधानी अपनाउनुपर्ने हुन्छ। 

प्रतिक्रिया दिनुहोस्