ऐतिहासिक र पौराणिक पर्यटकीयस्थल केभहिल



म्याग्दी : ऐतिहासिक र पौराणिक महत्वको म्याग्दीको बेनी नगरपालिका–५ गाजनेस्थित केभहिल प्रचारप्रसार र भौतिक पूर्वाधार अभावमा छायामा परेको छ। प्रसिद्ध पौराणिक ग्रन्थ ‘रामायण’का अनुसार महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीस्थित केभहिल प्राकृतिक सौन्दर्य र हिमशृंखला दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ। यहाँबाट धौलागिरि हिमाल पुनहिलभन्दा पनि नजिकबाट अवलोकन गर्न सकिन्छ।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभरि प्रसिद्ध छ। यो मन्दिर केभहिलको नजिकै छ।

त्यसैगरी मनोरम हिमशृंखला नजिकबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो। यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दी जिल्लाका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिने स्थानीय बासिन्दा शिव बानियाँले बताए।

बानियाँका अनुसार बेनीबजारदेखि नजिकैको क्षेत्र भनेको पुलस्त्य पुलहाश्रम, ढोल्ठान दरबार, जगन्नाथ मन्दिर रहेको गाजनेको धुरी, टोड्केको धुरीलगायत क्षेत्र छन्। ती क्षेत्रको व्यापक प्रचारप्रसार गर्न सके र यी ठाउँहरुको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्व बुझाउन सके नेपाल र भारतका मात्रै होइन तेस्रो मुलुकका हजारौं पर्यटक यहाँ आउन सक्ने प्रसस्त आधार छन्।

समुद्र सतहदेखि करिब २४ सय मिटर उचाइको सदरमुकाम बेनी बजारदेखि करिब डेढ÷दुई घण्टा पैदल यात्रापछि पुग्न सकिने केभहिल प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष यामवहादुर बानियाँले जानकारी दिए।

उनले भने, ‘ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रसस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै भए पनि यो ठाउँको प्रचारप्रसार हुन सकेन, राम्रोसँग प्रचारप्रसार गरी सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने हो भने केभहिल क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्यस्थल बन्न सक्छ।’

‘केभहिलबाट पूर्वोत्तरमा माछापुच्छे«, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमाल ठिंग उभिएको देखिन्छ’, पौलस्त्य पुलह क्षेत्रविकास समितिका अध्यक्ष लीलाबहादुर बानियाँले भने। उनका अनुसार केभहिल नजिकै रहेको धार्मिक दृष्टिले अति पवित्रतम गाजने गाउँ मादक पदार्थ र मांसाहार निषेधित नेपालकै उदाहरणीय गाउँ हो।

केभहिलबाट करिब आधा घण्टाको दूरीमा रहेको जगन्नाथ मन्दिर भारतको उडिसा राज्यको जगन्नाथ मन्दिरकै ढाँचामा निर्माण गरिएको छ। शिखर शैलीमा निर्मित यो मन्दिरदेखि माथितिर गाजने धुरीमा रहेको डढेकोट दरबारमा तत्कालीन समयमा भीषण वज्रपातबाट दरबार नष्ट भएपछि ढोलठानामा नयाँ दरबार निर्माण गरिएको इतिहासमा उल्लेख छ।

विशाल, बलशाली र समृद्ध चौबिसी राज्यको सर्वाधिक लामो समयसम्म राजधानी रहेको गाजने र ढोलठाना हो भने सहराजधानी हुँदै धेरै पछि मात्र बेनी बजार राजधानी बन्न पुगेको म्याग्दीका इतिहासकार चन्द्रप्रकाश बानियाँद्वारा लिखित ‘ऐतिहासिक पर्वत राज्य’ नामक पुस्तकमा उल्लेख छ। विसं १८४२ मा गोरखा–पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीलाई बनाएको ‘कहिले राजा बेनी बाग्लुङ, कहिले राजा ढोर’ भनेर गाइने यहाँको लोकगीतका आधारमा पनि भन्न सकिन्छ।

प्रशासनिक दृष्टिकोणले पनि यो ठाउँ महत्वपूर्ण मानिन्छ। अघिल्लो पुस्ताका म्याग्देली कार्यालय प्रमुखले समग्र जिल्लाको दृश्यावलोकनसहित वस्तुस्थिति मूल्यांकन यहाँबाट नै गर्ने गरेको स्थानीय वयोवृद्ध बताउँछन्। विशिष्ट व्यक्तित्वले पदबहाली र रमानापूर्व विश्वमहायज्ञ स्थलको चरु निधारमा घस्ने र जगन्नाथ मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने विश्वास प्राचीन समयदेखि रहँदै आएको छ।

बेनी नगरपालिकाभित्र रहेका टोड्के, जगन्नाथ, पौलस्त्य पुलहाश्रम, जालपा, महारानी, गलेश्वर, ज्यामरुककोट, भकिम्लीको स्वर्गाश्रम जस्ता ऐतिहासिक र धार्मिक महत्वका क्षेत्रको संरक्षण र उपयोग गर्ने अभियानमा बेनी नगरपालिका लागेको नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताए। ‘स्थानीय जनतालाई संरक्षणबाट प्राप्त हुने लाभ र संरक्षण नहुँदा हुने नोक्सानीका लागि प्रत्यक्ष जिम्मेवार बनाएर सचेत गरियो र आवश्यक पूर्वाधार विकास गर्न सरकारी स्तरबाट लगानी गर्न सकियो भने अवश्य पनि यी सम्पदाले बेनीवासीलाई मात्र होइन, देशकै पर्यटकीय विकासमा महत्वपूर्ण योगदान गर्नेछन्’, उनले भने।

प्रतिक्रिया दिनुहोस्