छिया छिया बन्दै म्याग्दीका पक्की पुल



म्याग्दी : हिमाली जिल्ला म्याग्दीको उत्तरी क्षेत्रका पक्की पुलहरू सवारी साधनको बढ्दो चाप, क्षमता भन्दा बढीको भार र नदी कटानका कारण छियाछिया बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ। अहिले उत्तरी म्याग्दी जोड्ने सबैजसो बेलिब्रिजमा सामान्य मोटरसाइकलसहित साना सवारीसाधन आवतजावत गर्दा समेत जोखिम बढेको छ।

पर्वत र म्याग्दी जोड्ने पक्की पुलमा क्षमता मापन नगरी सामान लिएर हेभी सवारीसाधन आवतजावत गर्न थालेपछि पक्की पुल जीर्ण बन्दै गएका छन्। २४ घण्टै सवारीसाधन आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दा समेत हल्लिन्छन्।

उत्तरी क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनलाई आवश्यक पर्ने ट्रान्सफर्मरसहित हेभी उपकरण सम्बन्धि सरकारी निकायको निगरानी बिनै पुलमा समान्य सर्पोट राखेर भारतीय १८ चक्केसम्मका सवारीसाधन आवतजावत गर्दा दुई जिल्ला जोड्ने पक्की पुल दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको बेनी नगरपालिका वडा नं ८ कालिपुलका खेम केसीले बताए।

अन्नपुर्ण गाउँपालिका–३ दानामा निर्माणधिन अवस्थामा रहेको नेपाल विद्युत प्राधिकारणले २२० केभी क्षमताको कालिगण्डकी प्रशारण करिडोरमा आवश्यक पर्ने  ३५ टनभन्दा बढी क्षमताको ट्रान्सफर्मर म्याग्दीको सदरमुकाम जोड्ने पक्की पुल हुँदै सवस्टेशनसम्म पुर्याउन एक हप्ता लाग्यो। सवस्टेशनका कर्मचारीले बेनीको पक्की पुल बाहेक गलेश्वर हुँदै तीनवटा बेलिब्रिजमा सर्पोट राखेर ट्रान्सफर्मर  दानासम्म पुर्याएका थिए।

‘पुल पैदलयात्रा गर्दा पनि हल्लिन्छन्,जोखिम ह्वात्तै बढेको छ,पुलको क्षमताका बारेमा कुनैपनि जानकारी उल्लेख छैन्’,केसीले भने। पक्की पुलमा खाल्टाखुल्टी भएकाले पोखरी बन्ने गरेकाले पनि सवारीसाधन आवतजावतमा समेत समस्या हुने गरेको सवारी चालकहरूले बताएका छन्। पक्की पुलको संरक्षणका लागि अहिलेसम्म कुनैपनि सरकारी निकायले चासो देखाएका छैनन्।

बेनी नगरपालिकाको वडा तथा अन्य सरोकारवाला निकायले समेत क्षमताभन्दा धेरै ढुवानीलाई रोक्नेतर्फ चासो नदेखाएको स्थानीयको गुनासो छ। डेढ दशक अघि निर्मित पक्की पुलको मर्मत तथा क्षमतभन्दा बढीका सवारीसाधनलाई रोक लगाउन नसक्दा कुनै पनि बेला गम्भीर क्षती हुने प्राविधिक पक्षकै भनाई छ। बेनी नगरपालिकाका तथा सडक विभागका इन्जिनियरलाई समेत पुलको आधिकारिक भारवन क्षमताका बारेमा जानकारी छैन्। 

बेलिब्रिज पनि छिया छिया 

तत्कालिन समयमा बेनी–जोमसोम सडकखण्ड विस्तारसँगै निर्मित उत्तरी म्याग्दीका तीनवटा बेलिब्रिजको अवस्था पनि उस्तै छ। गण्डकी प्रदेशको लाइफलाइन बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत महत्वपूर्ण मानिएको पुलको मर्मतमा बेवास्था गर्दा गलेश्वर, महभीर र पोखरेबगरमा क्षमताभन्दा धेरै टन ढुवानी गर्दा फलामे बेलिब्रिजमा ठडयाइएका पाता, नटबोल्टहरूमा असर गरेको छ।

सवस्टेशन, मिस्त्रीखोला र मुस्ताङमा निर्मित थापाखोला जलविद्युत आयोजनाले सर्पोट राखेर ढुवानी गरेपनि बेलिब्रिज छिया छिया भएको छ। दुईपाङ्ग्रे सवारीसाधन आवतजावनको क्रममा समेत समस्या देखिन थालेको छ। पुलको बीचमा प्वाल परेको छ भने बिम समेत जीर्ण अवस्थामा छ। केहीदिन अघि बेलिब्रिजमा बोलेरो अड्एिकपछि करिब डेढघण्टा सवारीसाधन अवरुद्ध भएको थियो।

क्षमताभन्दा बढी भारवहन सवारी पुल हुँदै आवतजावत गर्दा समस्या भएपछि गाउँपालिकाले सम्बन्धित निकायलाई सचेत बनाएको अन्नपूर्ण गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताए। ‘पुल एकदमै जोखिम देखिन्छ,कुनै पनि बेला पुलमा ठूलो दुर्घटना हुनसक्छ’, उनले भने। कालिगण्डकी कारिडोर अन्तर्गत नयाँ पुल बन्दै गरेपनि तत्काल पुरानै पुलको संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

उत्तरी म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले समेत प्रयोग गर्ने पुलमा भुकम्प आउँदा हल्लिएको जस्तै हुन भएकाले पैदलयात्रीलाई समस्या हुने गरेको छ। पुलको डिजाइन गर्दा तोकिएको भारवन क्षमताका बारेमा समेत अस्पष्ट भएकाले जलविद्युत र सवस्टेशनका प्राविधिकले पुलमा थप सर्पोट राखेर ढुवानी गर्ने गरेकाले पनि तत्काल गाउँपालिकामार्फत प्राविधिक टोलीलाई पुलको निरिक्षणमा ल्याउनुपर्नेमा जोड दिइएको छ। 

प्रतिक्रिया दिनुहोस्