सांसद थापाले संसदमा बालगीत गाएपछि…



म्याग्दी : म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भुपेन्द्र थापाले सरकारले नीति तथा कार्यक्रम अनुसार बजेट ल्याउन नसकेको टिप्पणी गर्दै संसदमै बालगीत गाएर व्यंग्य गरेका छन्।

विनियोजन विधेयक २०७६ माथि शुक्रबार प्रतिनिधिसभा बैठकको छलफलमा भाग लिदै सांसद थापाले नीति तथा कार्यक्रम अनुसार विषयगत मन्त्रालयले योजनाहरूमा बजेटको व्यवस्थापन गर्न नसकेकोमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई बालगीतमार्फत व्यंग्य गरेका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन, खानेपानी तथा सरसफाई र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत प्रस्तावित योजनाहरूको छलफलमा भाग लिदै मन्त्री थापाले बजेट केटाकेटी खेलेजस्तो भएको गुनासो गरे। मन्त्री, सचिव, विभागीय प्रमुखले दिएको आश्वासन अनुसार बजेट व्यवस्थापन नभएको र मन्त्रीहरूकै जिल्लामा मात्रै धेरै बजेट बिनियोजन गरेको उनले बताए।

उनले आफूहरूको मेहनत र अहिलेको बजेट ‘खै बिरालो, मुसा खोज्न गयो, खै गाई  खोलाले बगायो, खै खोला स्याप्पै सुक्यो भनेजस्तै भएको’ बताए।  सांसद थापाले दुर्गम ग्रामीण क्षेत्रका बासिन्दाहरूले सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी नहुँदा गास काटेर शिक्षक पाल्नुपर्ने अवस्था भएको बताउँदै तहगत र कक्षागत शिक्षकको दरबन्दी व्यवस्थापन र विद्यार्थी संख्या कम भएका विद्यालयलाई गाभेर आवासीय बनाउन बजेट बिनियोजन गर्नुपर्ने बताए।

संघीय मामिला मन्त्रीका जिल्लामा पानाका पाना योजना भएको तर आफूहरूले प्रस्ताव गरेका योजना खोजेर हेर्नुपरेको गुनासो गर्दै म्याग्दीका विकट बस्तीहरूमा झोलुङ्गे पुलहरू निर्माणका योजना समेट्न माग गरे। यसैगरी यसअघिकै वर्ष सुरु भएका बृहत घोप्टेखोला, बृहत भगवती पिप्ले लगायतका खानेपानी योजनालाई न्युन बजेट विनियोजन हुँदा बाजेका पालामा सुरु भएका योजनाहरू नातीका पालामा पनि नसकिने अवस्था देखिएको बताए।

उनले जनताले योजना किताबको पानी खाएर बाँच्न नसक्ने भन्दै सम्बन्धित मन्त्रालय र मन्त्रीको ध्यानकर्षण समेत गराएका थिए। सांसद थापाले जिल्लामा अत्यावश्यक ठाउँहरूमा निर्माण गर्नुपर्ने पुलमध्ये पात्लेखेत–मौवाफाँट, शिख–पाउद्धार, मुदी–खिबाङ र पाखु र हिलबाङ जोड्ने झोलुंगे पुलको लागि बजेट विनियोजन नभएकोप्रति ध्यानकर्षण गराउँदै तत्काल बजेटको सुनिश्चिता गर्न माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्