बढ्दै छ मानसिक समस्या, कसरी थाहा पाउने र बच्ने ? (भिडियो)



काठमाडौं : पछिल्लो समय मानसिक रोगका बिरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन्। सामाजिक, आर्थिक, राजनीतिक वातावरण, रहनसहन, साथीभाइसँगको सम्बन्धमा आउने उतारचढाव एवं हार्दिकता, सुमधुरता, विश्वास र आत्मसंयमको कमीले पनि मानसिक रोगी बढेको देखिन्छ।

केटाकेटीदेखि वृद्धवृद्धासम्म यसले सताउने गरेको चिकित्सकहरु बताउने गर्छन्। तर पछिल्लो समय युवा वर्गमा यसखाले समस्याले पिरोल्ने गरेको मानसिक रोग विशेषज्ञ रितेश थापा बताउँछन्।

मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यसको समस्या बढी देखिने गरेको उनले बताए।

उनले भने, ‘देशभरमा कति मानसिक रोग पीडित छन्, भन्ने एकीकृत तथ्याङ्क त छैन। जति पनि अस्पतालबाट आएका डाटा अनि अनुसन्धान भएका छन्, त्यसले धेरै बढिरहेको देख्न सक्छौं। लगभग ५० लाख मानिस कुनै न कुनै मानसिक रोगबाट पीडित रहेका छन्। नेपाल हेल्थ रिर्सज काउन्सिलले एउटा अनुसन्धान गरिरहेको छ। त्यसको डाटा आइसकेपछि ठ्याकै यति बिरामी छन् भनेर भन्न सकिन्छ।’

अझैसम्म आम नागरिकले मानसिक रोगीलाई धामी, झाँक्रीकहाँ लगेर उपचार गराउने गरेको डा थापाले बताए।समयमा उपचार नहुँदा सामान्य समस्यासमेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ, त्यसैले समयमै उपचार गराउनुपर्ने उनी बताउछन्।

इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको उनी बताउँछन्। भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको तथ्यांकहरुले बताएका छन्।

थप विवरण यो अन्तर्वार्तामा :

 

प्रतिक्रिया दिनुहोस्