न्युजिल्यान्डलाई शीर्षस्थानको चिन्ता, अफ्रिकालाई नकआउटको



काठमाडौं : इंग्ल्यान्ड र वेल्समा जारी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार दक्षिण अफ्रिका र न्युजिल्यान्डको खेल हुनेछ। बर्मिङघमको एजबास्टोन स्टेडियममा न्युजिल्यान्डको सामना गर्दा दक्षिण अफ्रिकाको लागि त्यो खेल थप चुनैतिपूर्ण हुने भएको छ।

विश्वकपको सुरुआती पाँच खेलबाट एकमात्र जित हासिल गरेको गत संस्करणको सेमिफाइनलिस्ट दक्षिण अफ्रिका यस संस्करणमा सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने दवावमा छ। गत संस्करणमा न्युजिल्यान्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो।

१० टोली सम्मिलित विश्वकपको लिग चरण राउण्ड रोविन प्रणालीमा खेलाइएको छ र बाँकी चार खेलमा उसले शतप्रतिशत जित हाँसिल गरेमात्र शीर्ष चार प्रवेशको सम्भावना रहनेछ।

पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएपछि दक्षिण अफ्रिकाले जितको लय समाएको अपेक्षा गर्न सकिन्छ। तर, उच्च लयमा रहेको न्युजिल्यान्डविरुद्धको खेल उसलाई अफगानिस्तानजत्तिको सहज निश्चित रुपमा हुने छैन।

न्युजिल्यान्डको बलिङ आक्रमण र शीर्ष क्रमका ब्याट्समेनहरुको प्रदर्शन अहिलेसम्म उत्कृष्ट हुँदै आएको छ। मध्यक्रमका ब्याट्सम्यानले धेरै खेल्ने अवसर पाएका छैनन। बंगलादेशविरुद्धको खेलमा उसको मध्यक्रम असफल देखिएको थियो।

दक्षिण अफ्रिकाका लागि खुसीको खवर के हो भने ह्याम्स्ट्रिङको चोटका कारण ३ खेल खेल्न नसकेका लुंगी एनगिडीले पुनरागमन गर्ने भएका छन्। दक्षिण अफ्रिको बलिङ आक्रमण उनको उपस्थितिले केहि सुधारिने अपेक्षा गरिएको छ।

यता न्युजिल्यान्ड पनि आफ्नो शीर्षस्थान फर्काउन चाहन्छ। ऊ अहिले तालिकाको तेस्रो स्थानमा छ। यदि उसले आजको खेल जितेमा अग्रस्थानमा पुग्नेछ।

एजबास्टोनको मौसम बुधबार बिहान हलुका वर्षा भए पनि दिनभर सफा रहने अनुमान गरिएको छ। यस मैदानमा भएका पछिल्ला ४ खेलमा सुरुआती ब्याटिङ गर्ने टिमले जितेको छ।

प्रतिक्रिया दिनुहोस्