सरकारले ट्याक्सीमा नयाँ मापदण्ड ल्याउँदै, न्यूनतम् १२ सय सीसी हुनुपर्ने



काठमाडौं : सरकारले अब ट्याक्सीमा नयाँ मापदण्ड कायम गर्न लागेको छ । नेपालको ट्याक्सी सेवाबारे धेरै जनगुनासो आइरहेको पाइन्छ । भाडा महँगोेदेखि, सामान धेरै राख्न नमिल्ने, एसी चलाउने सुविधा नहुनु, अग्ला मान्छेका घुँडा अगाडिका सिटमा ठोकिनु आदि जस्ता विविध समस्याहरु रहेको पाइन्छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता परम्परागत खालका ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ ट्याक्सीमा न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउन दिनेगरी मापदण्ड प्रस्ताव गरेको छ । यो मापदण्ड मन्त्रिपरिषदमा पुगेको लामो समय भए पनि पारित भने हुन सकेको छैन ।

सरकारले यही समयमा पुरानो नम्बरका ट्याक्सीमा नयाँ ८ सय सीसीका ट्याक्सी दर्ता रोकेको छ । यो निर्णय उचित नभएको भन्दै ट्याक्सी व्यवसायी सर्वोच्च आदालत पुगेका छन् ।

नयाँ मापदण्डमा सरकारले ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरेर दर्ता गर्ने प्रस्ताव गरेको छ । नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारमा वर्गीकरण गरेरै ट्याक्सीका फरक–फरक मापदण्डहरु तोक्न प्रस्ताव गरिएको छ । यी फरक–फरक क्षमता र विशेषताका ट्याक्सीका लागि फरक–फरक भाडादर कायम गर्न पनि मापदण्डमा व्यवस्था गरिएको छ ।

सुविधाका आधारमा तीन प्रकारमा ट्याक्सीको वर्गीकरण गर्दा यात्रुले आफ्नो आर्थिक क्षमताअनुसरको विकल्पहरु पाउने मन्त्रालय बताउँछ ।

ट्याक्सी सेवालाई स्तरीय बनाउन ठूला क्षमताका सवारीलाई मात्रै ट्याक्सीका रुपमा दर्ता गर्न लागिएको हो । ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा यातायात व्यवस्था विभागले तयार गरेको थियो । विभागले मन्त्रालयमा पठाएको मस्यौदामाथि भौतिक पूर्वाधार मन्त्रालयले आवश्यक समीक्षा गरेर मन्त्रिपरिषदमा पेश गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्