साढे ३३ किलो सुन तस्करी प्रकरण : यी न्यायाधिशमाथि निर्णय हुँदै



काठमाडौं : साढे ३३ किलो सुन तस्करी प्रकरणमा तानिएका न्यायाधीशहरुमाथि आज (बुधबार) निर्णय हुँदैछ । सुन तस्करी प्रकरणका आरोपीलाई धरौटीमा छोड्ने आदेश गर्दा न्यायिक विचलनमा परेको भन्दै छानबिनमा तानिएका न्यायाधीशहरुलाई ३ महिनापछि न्याय परिषद्ले कारबाहीका विषयमा निर्णय गर्ने भएको हो। 

मंगलबारदेखि बसेको परिषद् बैठकले सर्वोच्चका न्यायाधीशका प्रतिवेदनको आधारमा आज निर्णय गर्दैछ। 

न्यायाधीश थिरबहादुर कार्की र उमेश सिंहलाई भने गम्भीर कारबाहीको सिफारिस हुन सक्ने  संकेत देखिएको एक सदस्यले बताए । ‘उहाँहरुले धरौटीमा छोड्दा न्यायिक विचलनमा परेको स्पष्ट देखिन्छ । त्यसैले परिषद्ले त्यसमा उचित निर्णय लिनेछ’ उनले भने । 

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ८ जना न्यायाधीशमाथि परिषद्ले माघमा छानबिन थालेको थियो। उच्चसँगै जिल्ला अदालत ललितपुर र तनहुँका न्यायाधीशविरुद्ध समेत छानबिन गर्न समिति गठन भएको थियो।

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा र हरिकृष्ण कार्की रहेको समिति गठन गरिएको थियो। यसपछि ३ न्यायाधीश रहेको अर्को छानबिन समिति गठन भएको थियो। केदारप्रसाद चालिसेको नेतृत्वमा रहेको उक्त समितिले अध्ययन प्रतिवेदन बुझाएपछि परिषद्ले कारबाहीका बारेमा छलफल थालेको हो।  

न्याय परिषद्ले चैत ११ मा न्यायाधीशहरु चालिसे, मीरा खड्का र विश्वभरप्रसाद श्रेष्ठ रहने गरी उक्त समिति गठन गरेको थियो।

नयाँ प्रधानन्यायाधीशका रूपमा चोलेन्द्र शमशेर राणाले पदभार सम्हालेलगत्तै न्यायिक इतिहासमा पहिलो पटक मुख्य न्यायाधीशसहितका ८ जना छानबिनका लागि तानिएका थिए। 

विराटनगर उच्च अदालतबाट सुरुमा ५ जना न्यायाधीश छानबिनका लागि परिषद्मा तानिएका थिए। न्यायाधीशहरू नागेन्द्र लाभ कर्ण, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी काजमा परिषद् तानिएका हुन्। 

विराटनगर उच्चका मुख्यन्यायाधीश भुर्तेल समेतलाई सूक्ष्म निगरानी संयन्त्रले परिषद्मा तानेको थियो। भुर्तेलपछि दुई न्यायाधीशहरू जनक पाण्डे र साधुराम सापकोटालाई पनि परिषद् झिकाइएको थियो।

 

प्रतिक्रिया दिनुहोस्