आगालागीबाट खण्डहर बनेको बस्तीमा अग्निपीडितका लागि नयाँ घर निर्माण



गलकोट : आगालागीबाट खण्डहर बनेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँको बस्ती पुनःनिर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले अग्निपीडित परिवारलाई उपलब्ध गराएको रु एक लाख राहत रकम र नगरप्रमुख देवकुमार नेपालीले व्यक्तिगतरूपमा उपलब्ध गराएको जस्तापाताले अग्निपीडितको घर पुनःनिर्माण गरिएको हो ।

विसं २०७५ मङ्सिर ९ गते नवीगाउँमा भएको भीषण आगलागीबाट घरबासविहीन बनेका ३९ परिवारको आवास पुनःनिर्माणकार्य सम्पन्न भएको ढोरपाटन नगरपालिकाले जनाएको छ । नगरपालिकाले बस्ती निर्माणका लागि ३९ घरपरिवारलाई पहिलो किस्ता रु २५ हजार पहिला नै हस्तान्तरण गरेको थियो भने बस्ती निर्माण सम्पन्न भएसँगै अन्तिम किस्ता रु ७५ हजार हस्तान्तरण गरिएको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताउनुभयो । 

ढोरपाटन नगरपालिकाको तर्फबाट रु एक लाख तथा नगरप्रमुखको व्यक्तिगत रङ्गीन जस्तापाता र एक÷एक थान सौर्य उपकरण सहयोग गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । आगलागीबाट खरानी बनेको नवीगाउँको पुनःनिर्माणपछि बस्तीको मुहार नै फेरिएकामा अग्निपीडित खुशी भएका छन् । “जनताका निम्ति धेरै आलोचनाका बीचमा बस्ती पुनःनिर्माण गरेका छौँ”, नगरप्रमुख नेपालीले भन्नुभयो, “अग्निपीडितले गाउँमै सिंहदरबार आएको बल्ल महसुस गर्न पाए ।” 

आगलागीबाट घर पूर्णरूपमा नष्ट भएपछि अस्थायी छाप्रोमा बस्दै आएका अग्निपीडित दिलीपकुमार विकले ढोरपाटन नगरपालिका र नगरप्रमुखको सहयोगमा नयाँ घरमा बस्न पाउँदा साँच्चिकै स्थानीय सरकार घरदैलोमा आएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

पहिले कुरुप देखिने नवीगाउँ अहिले एउटै रङको जस्तापाताले छाएको एकै प्रकारको घरले सुन्दर भएको छ । सुन्दर आवाससँगै सोलार पातासमेत पाएपछि आफूहरूमा खुशी सीमा नरहेको अग्निपीडित काले कामीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्