प्रधानमन्त्रीले जहाँ पनि हेप्ने : शेरबहादुर देउवा



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बल मिच्याई नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । साथै मंगलबार प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोज्दा आफूहरुले संसद अवरुद्ध गर्नु परेको उनले बताए ।

बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सभापति देउवाले सदन प्रतिपक्षको पनि हो भन्ने नभुल्न आग्रह गरे । प्रधानमन्त्री ओली संसदमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदिय  दलका नेता देउवाले भने, ‘जहाँ पनि प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता आउनुपर्छ।

विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री पनि आउनैपर्छ । तर यहाँ हेप्ने काम भएको छ । त्यसकारण यो पनि हामीले कुनै पनि हालतमा मान्दैनौं सभामुख महोदय ! प्रतिपक्षले पहिले बोल्ने र सत्तापक्षले जवाफ दिने संसारभर प्रचलन रहेको भएपनि प्रधानमन्त्री जबरजस्ती बोल्न खोज्दा विरोध गर्नु परेको उनले स्पष्ट पारे ।

उनले भने, ‘प्रधानमन्त्री बोल्ने भएपछि कोही बोल्न पाइन्न । यस्तो पनि कहीँ हुन्छ ?’कांग्रेस सभापति देउवाले गुठी विधेयक फिर्ता लिनु सकारात्मक भएको बताएका छन् । तर संसदमा दर्ता भएको विधेयक बाहिरबाट फिर्ता लिनु गलत भएको उनले बताए ।

देउवाले मिडिया काउन्सिलसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक मानवअधिकार आयोगसम्बधी विधेयक र सुरक्षा परिषदसम्बन्धी विधेयक पनि फिर्ता लिन माग गरे ।

 

प्रतिक्रिया दिनुहोस्