काठमाडौं महानगरकाे सार्वजनिक योजनामा के के छन् ?



काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले दुई ठाउँमा सम्पदा पदमार्ग निर्माण गरिने बताएका छन्।

मेयर शाक्यले आगामी आर्थिक वर्षमा हनुमानढोकादेखि स्वयम्भूसम्म पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा ल्याइने बताए। उनले पशुपतिनाथदेखि बौद्धस्तुपासम्म भने हरित सम्पदा पदमार्ग निर्माण गरिने बताए।

महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विकक महत्वका टोल, बस्ती, मठ, मन्दिर, भाषा, लिपी, रितीरिवाज र अमुर्त सम्पदाको संरक्षण तथा सम्बर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ।

यसैगरी हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसनधान गर्ने पनि उनले बताए। त्यसैगरि महानगरपालिकाले सम्भाव्य स्थानहरुमा साईकल लेन बनाउने भएको छ।

निश्चित स्थानहरू पहिचान गरेर भेहिकल फ्रि जोन बनाउन लागेको छ। महानगरको अधिकार क्षेत्र भित्रका प्रमुख चोकहरूमा आधुनिक सिग्नलाईज्ड प्रणालीमा आधारित ट्राफिक लाईटहरु जडान गरी ट्राफिक व्यवस्थापनलाई थप सहज र व्यवस्थित बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

सहरका विभिन्न स्थानमा  स्मार्ट भर्टिकल पार्किङ र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिने उल्लेख गरेको छ। अन्य नगरपालिका र निजी क्षेत्रसँग समन्वय गरेर विद्युतीय सवारीसाधन संचालन गर्ने नीति लिएको छ।

नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ। काठमाडौंलाई प्रदूषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा भनिएको छ।

त्यसैगरी सूचना तथा संचार नीतिअन्तर्गत निःशुल्क वाइफाई सेवा संचालनको कामलाई बिस्तार गर्ने, काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा ’मेट्रो टेलिभिजन’ स्थापना गरी संचालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्