भ्रष्ट मेयरकै निर्देशनमा ममाथि आक्रमण भयो : उपमेयर झा



जनकपुरधाम : महोत्तरीको औरही नगरपालिकामा मेयर सुनील यादवको प्रत्यक्ष संलग्नता र निर्देशनमा  आफूमाथि हातपात भएको उपमेयर रेणु झाले आरोप लगाएकी छन्। 

आज नगरपालिकामा पत्रकार सम्मेलन नै गरी उनले भनिन्, ‘मेयरको गलत क्रियाकलाप र मेयरको गलत नीतिबारे ममाथि भौतिक आक्रमण भयो।’ उनले यसबारे प्रस्ट पार्दै भने, ‘शनिबार बिदाको दिन पनि कार्यालयमा के भइरहेको छ भनी बुझ्न जाँदा मेयरको निर्देशनमा उनका ठेकेदार र कर्मचारीले बलजफ्ती म र मसँगै गएका स्थानीयलाई दुव्र्यवहार गरे, मेरो लुगासमेत च्यातिदिए।’

उपमेयर झाले निकालेकाे प्रेस विज्ञ्पति

च्यातिएको लुगा देखाउँदै उपमेयरले थपिन्, ‘हप्ता दिनदेखि कार्यालय नआउने कर्मचारी शनिबार किन आए भनेर बुझ्न कार्यालय जाँदा मेयरका गुण्डाहरुले मेरो यो हालत बनाए।’

मेयर यादवले नगरमा चरम चलखेल गरी भ्रष्टाचार गरेको, आफूखुसी बजेट चलाएको, आफ्ना नजिकलाई मात्र योजना दिएको आरोप पनि पत्रकार सम्मेलनमै लगाइन्। 

महिला भएकै कारण आफूमाथि हातपात गर्न लगाउने मेयरलाई नगरपालिकाको काम कारबाहीका सम्बन्धमा यसअघि नै जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइसकेको उनले त्यस क्रममा जानकारी दिइन्। 

उपमेयर झाले त्यस दिन भएको झडपपछि आफूले एउटा ल्यापटप जफत गर्न सफल भएको बताइन्। साथै आफूले कार्यालयमा कुनै खालको तोडफोड नगरेको र यी सबै मेयरले लगाएको झूटा आरोप मात्र भएको बताइन्। 

पत्रकार सम्मेलनमा राजपाका नेता ज्ञानेन्द्र झा ज्ञानुले औरही नगरपालिकामा मेयरको इसारामा व्यापक घोटाला भएको आरोप लगाएका छन्। झाले भने, ‘हिजो पनि मेयर आफैं रक्सी खाएर मात्तिएर आसेपासे लगाएर म र उपमेयरसहितका व्यक्तिमाथि सांघातिक हमला गरे।’ 

पारदर्शिताको कुरा गर्दा यहाँ मेयरले आफूलाई गुण्डा लगाएर आक्रमण गरेको उनको आरोप थियो। नेता झाले भने, ‘मेरो लुगा च्यातिएको छ, घाँटीको सिक्री लुटिएको छ।’

घटनापश्चात् तत्काल गौशाला प्रहरीलाई खबर गर्दा उल्टै प्रहरी पनि मेयरकै पक्षमा उभिएको पनि उले आरोप लगाए। 

गौशाला प्रहरी इन्चार्जसमेत भ्रष्टहरुको पक्षमा लागेका पत्रकार समेलनमा उनले बताए। 

औरही नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा राजपाका केन्द्रीय सदस्य दरेश यादवले मेयर सुनील यादवको भ्रष्टहरुसँग साँठगाँठ रहेको बताए। 

आफूनिकट केही ठेकेदारसँग मिलेर मेयरले नगरपालिकाको बिल भर्पाई र कागजपत्र मिलाएको भन्दै उनले उपमेयर र उनीसँग गएकामाथि आक्रमण हुनु दुखद् रहेको बताए।

मेयरको गलत क्रियाकलापविरुद्ध उपमेयर सुरुदेखि नै बोल्दै आएकी उनले बताए। साथै उनले उप्रान्त यस्तै घटना भइरहने हो भने आफ्नो पार्टी चुप लागेर नबस्ने पनि उनले चेतावनी दिए। 

नेता यादवले उपमेयरलाई नजरबन्दमा राखेजसरी उनको कोठामा सीसीटीभी जडान गरिएको प्रति पनि आपत्ति जनाए। नेता यादवले सोधे, ‘के यही हो मेयरको कार्यसम्पादनको तरिका ?’ 

आफ्नाे कार्यकक्षमा मेयरले जाेडेकाे सीसी क्यामेरा उपमेयर

कानुनले स्थानीय तहका उपप्रमुखलाई न्यायिक समिति गठन गरी न्या सम्पादन गर्ने जिम्मेवारी दिए पनि यस नगरमा सबै अधिकार मेयरले कब्जा गरेको उनको प्रस्ट पारे। 

साथै गएराति नगरपालिका कार्यालय तोडफोड भएको र मेयर उपमेयरबीच झगडासमेत भएको स्थानीयले बताएका छन्। तर यता मेयर यादवले भने कामको चापले गर्दा शनिबार पनि कार्यालय खोलेको र काम गर्नुपर्ने बाध्यता भएको बताएका प्रहरी निरीक्षक किशोर आचार्यले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्