पाँच वर्षपछि दरखोला लघुजलविद्युतको पुनर्निर्माण सुरु



म्याग्दी : म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा ५ वर्षअघि पहिरोले बगाएको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको पुनर्निर्माण सुरु गरिएको छ । 

बाढीले लघुजलविद्यत बगाएपछि अन्धकारमा बस्दै आएका वडा नम्बर २ को लुलाङ, लमसुङ, खोरीया लगायतका ३ सय ४० बढी घरधुरीको सुविधाको लागि परियोजनालाई नयाँ पूर्वाधारसहित पुनर्निर्माण सुरु गरिएको हो । 

धवलागिरी गाउँपालिकाको ५० लाख, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८६ लाख लागत र उपभोक्ताको १० प्रतिशत जनश्रमदानबाट आयोजनाको पुनर्निर्माण सुरु गरिएको हो ।

आयोजनाको क्षमता बढाएर ४३ किलोबाट क्षमतामा पुनर्निर्माण सुरु भएको यस लघुजलविद्युत परियोजनाको कामलाई तिव्रता दिइएको उपभोक्ता समितिका सचिव लालबहादुर खड्का थोकीले जानकारी दिए । उनका अनुसार मुहान र पाइपलाईनको काम अन्तिम चरणमा पुगेको छ भने विद्युतगृहको काम समेत सुरु गरिएको छ । पहिले यस आयोजनाको क्षमता २५ किलोबाट क्षमताको रहेको थियो । यस आयोजनामा उपकरण जडानको सम्झौता ओसिन पावर सर्भिस प्रालिले गरेको छ ।

परियोजना निर्माण कार्यमा खटिएका प्राविधिक हेमराज रेग्मीले आयोजनाको करिब ४५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । खबाङको दोभानमा बाँध रहेको यस परियोजनामा ७ सय २५ मिटर लामो पाइपलाइन मार्फत ल्याइने पानीलाई ६२ मिटर अग्लो हेडबाट मरेनीको फेदीमा दरखोलाको किनारमा रहने विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिनेछ । मुहानतर्फको अधिकांश काम सम्पन्न भइसकेको छ । पानी ल्याउने पाइपलाइनमा ८६ मिटर फलामे र ६ सय ६३ मिटर प्लाष्टिक पाइप विस्तार गर्ने अधिकांश काम पनि सकिएको उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर पुर्जाले बताए । विद्युतगृहमा टवाइन जडानसँगै अन्य पूर्वाधार निर्माणको काम थालिएको उनले जानकारी दिए ।

वैशाखदेखि पुनर्निर्माण सुरु भएको यस आयोजना निर्माण सम्पन्न गर्न अझै साढे दुई महिनाभन्दा बढी समय लाग्ने उपभोक्ता समितिले जनाएको छ । लुलाङमा तत्काललाई लघुजलविद्युत र निकट भविष्यमै केन्द्रिय प्रशारण लाइनको समेत सुविधा पु¥याउने गरि गाउँपालिकाले बजेट विनियोजन र सम्बन्धित निकायमा पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका अनुसार, गाउँपालिका मार्फत विनियोजन भएको ५० लाख बजेट आयोजनाको पुनर्निर्माणसँगै गाउँमा नयाँ फलामे पोल विस्तारमा परिचालन गरिएको छ ।

दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह पुरिनुका साथै नहर बाढीले बगाएपछि चार वर्षदेखि लुलाङ, लमसुङ र खोरिया गाउँ अन्धकार बनेका छ । रातमा उज्यालोको अभावमा स्थानीयले टुकीको भरमा गुजारा चलाउँदै आएका छन् । आर्थिक रुपमा सक्षम परिवारले सोलार जडान गरेपनि अधिकांश घरधुरी विपन्न रहेकाले टुकीकै भरमा गुजारा चलाउन बाध्य भएको वडा अध्यक्ष गमप्रसाद विकले बताए ।

उनले गरिब र विपन्न परिवारका बालबालिकालाई उज्यालोमा घरायसी काम गर्नुपर्ने बाध्यता हुने र रातमा घरमा उज्यालो नहुने समस्याले अध्ययनमा समस्या भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्