गुर्जाको तारेभीरमा ‘हनि हन्टिङ’



म्याग्दी : ‘मह’ को नाम सुन्दा पनि मुख रसाउने । भीर मौरीको मह  खान जति स्वादिष्ट र स्वास्थ्य बर्धक छ यसलाई निकाल्न भने ज्यानकै बाजी लगाउनुपर्छ । ज्यानकै बाजी लगाउँदै मह शिकार गर्न व्यस्त छन् यतिबेला म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको घ्यासपुरमा रहेको भीरमा मह शिकारीहरु ।

झण्डै ५ सय मिटरभन्दा अग्लो भिरमा डोरीको भ-याङ (पराङ) मा ज्यान अड्याएर वर्षौँदेखि आफ्नो पुर्ख्यौली चलनका रूपमा गुर्जावासीहरूले भीरमौरीको मह निकाल्दै आएका छन् । 

शरीरमा बाक्लो कपडा, हातमा पन्जा र अनुहारमा जाली लगाएर मौरीको चिलाई (टोकाई) बाट बच्दै मह काढ्दै गरेको दृश्य अत्यन्त रोमाञ्चकारी र डरलाग्दो देखिन्छ । मह सिकारीहरू भीरमा पुगेपछि आगो बालेर मौरी धपाउँछन् अनि मौरीका चाकाहरू खसाल्छन् ।

म्याग्दीको सदरमुकाम बेनीबाट  यतायात र पैदल गरी २ दिनमा पुगिने गुर्जाको घ्यासपुरमा भीरमा पुग्ने ‘मह शिकारी’हरू गुर्जा गाउँबाट झण्डै ५ घण्टाको पैदल यात्रा गरेर मह सिकारमा जाने गरेका छन् । हरेक वर्ष जेठदेखि असार महिनासम्म एक महिनाको अवधिमा घ्यासपुर जस्तै जिल्लाका छहरा, रिमताला, हुचिन, घुमाउरे, वानथान, फलियाघर, ठूलो भीर लगायतका अन्य दर्जनौँ तारेभीरहरूमा यसरी नै मह सिकार हुने गरेको छ ।

 गुर्जावासीहरूले आफ्ना पुर्खाहरूबाट मौरी टोकाइबाट सुरक्षित हुने तरिकासहित भिरबाट मौरी निकाल्न जानेका छन् ।

 भीरको कोप्चामा पानीले नभिज्ने र हावाहुरीले समेत कम प्रभावित हुने ठाउँमा हुने भीरमौरीको चाकाबाट मह निकाल्ने काम पुर्ख्यौली पेसा भए पनि निकै जोखिमपूर्ण छ । 

गुर्जामा रहेका झण्डै २ सयभन्दा बढी घरधुरीहरू समूहमा विभाजित भएर बर्सोनी भीरमा गएर मह निकाल्ने गरेका छन् । वर्षमा झन्डै १५ लाखको मह गुर्जाको भिरमा उत्पादन हुने भीरमहले स्थानीयबासीको आयआर्जनको लागि महत्त्वपूर्ण स्रोत बनेको छ ।

भीरमा मौरीको चाकाबाट निकालिएको काँचो महलाई गाउँमा पु-याएर पकाएर प्रशोधन गरी स्थानीय तथा राष्ट्रिय बजारहरूमा बिक्रीको लागि पुर्याउने गरिन्छ भने एकपटकमा एउटा भीरबाट झण्डै  ३ सय लिटरभन्दा बढी मह निकाल्ने गरिएको गुर्जाका स्थानीयवासी एवम् धौलागिरी गाउँपालिका १ गुर्जाका अध्यक्ष झकवहादुर छन्त्यालले बताए ।

वडाअध्यक्ष छन्त्यालका अनुसार राम्रोसँग मह निकाल्न पाएको वर्षमा झण्डै १५ लाख रुपैयाँभन्दा बढीको मह भीरबाट निकालिन्छ ।

गुर्जावासीको पुर्ख्यौली पेसाको रूपमा रहेको मह सिकारलाई धवलागिरी गाउँपालिकाले पनि कार्ययोजना बनाएर व्यवस्थित बनाउँदै लैजाने तयारी गरिरहेको छ । गाउँपालिकाका प्रवक्ता समेत रहेका छन्त्यालले गाउँपालिकाले मह सिकारलाई सुरक्षित र व्यवस्थित बनाएर स्थानीयको पुर्ख्यौली पेसाको संरक्षण र पर्यटनसँग समेत जोडेर पर्यटन विकास गर्ने रणनीति लिएको छ । 

नयाँ योजनाभित्र सिकारको परम्परागत शैलीलाई आधुनिक बनाउँदै यसलाई सुरक्षित कसरी बनाउन सकिन्छ ? भन्ने विषयमा पनि छलफल भइरहेको प्रवक्ता छन्त्यालको भनाइ छ। भीरमौरीको मह औषधिको रूपमा प्रयोग हुने गरेको छ।

 तस्वीर : कमल खत्री 

प्रतिक्रिया दिनुहोस्