कर्णाली जीप दुर्घटना : खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्षको शव २२ दिनपछि भेटियो



सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीको शव भेटिएको छ । शव बुधबार बिहान कर्णाली नदीको किनारमा भेटिएको हो । 

असार ३ गते जीप कर्णाली नदीमा खस्दा उनीसहित १० जना बेपत्ता भएका थिए। जीप दुर्घटनाको २२ दिनपछि गाउँपालिकाका उपाध्यक्ष शाहीको शव भेटिएको हो।

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीप दुर्घटनापछि कर्णालीमा बेपत्ता भएकी उपाध्यक्ष शाहीको शव फेला परेको जानकारी दिए । उपाध्यक्ष शाहीको शव भेटिए पनि अन्य नौजना भने अझै बेपत्ता छन् । असार ३ गते सिमकोटदेखि यांचुकुनातर्फ जाँदै गरेको जीप खार्पुनाग गाउँपालिकाको बेडुबिसौनामा दुर्घटना भएको थियो । 

लामो समयसम्म पनि शव फेला नपरेपछि स्थानीयले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन् । 

खार्पुनाथदेखि ४५ कोष टाढा दक्षिणमा रहेको सर्केगाड गाउँपालिकाको वडा नम्बर ४ दुल्ली र मुन्डीस्थित नागरा भन्ने स्थानमा उपाध्यक्ष हमालको शव भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

कर्णाली नदीकै छेउमा भेटिएको शाहीको शव लिन फिस्टेल एअरको हेलिकप्टबाट प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी र मृतकमा आफन्त पुगेका थिए ।

बुधबार नै पोस्टमार्टमपछि आफन्तले उनको दाहसंस्कार गरेका छन् । 

दुर्घटनापछि कर्णालीमा बेपत्ता भएको जीपका चालक मणिजंग शाही, स्थानीय चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौरा दमाइ र उनका दुई वर्षका छोरा गोकुल सुनार र काठमाडौं थानकोटका मिस्त्री राजु श्रेष्ठ र उनका सहयोगी अहिले पनि बेपत्ता छन् । 

 

प्रतिक्रिया दिनुहोस्