उद्योगमन्त्री यादव गृह जिल्लामा, बाढी पीडितको राहत र उद्धारमा जुट्न निर्देशन



जनकपुरधाम : बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव गृह जिल्ला धनुषा पुगेका छन्। धनुषामा आइतबार बसेको विपद व्यवस्थापन समितिको बैठकमा सहभागि मन्त्री यादवले बाढी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सबै मातहतलाई निर्देशन दिएका छन्।

मन्त्री यादवले बाढीको खतरा अझै नटरेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरे। उनले धनुषा विपद व्यवस्थापन समितिले गरेको कार्यको सराहनीय गर्दै सम्पूर्ण सरकारी संयन्त्रलाई यस्तो बेला इमान्दारीताका साथ सजग भएर कार्य गर्न आग्रह गरे।

मन्त्री यादवले बढी क्षति र राहत आवश्यक स्थानलाई प्राथमिकतामा राखेर राहत वितरणकार्य तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई निर्देशन दिए। आफू र आफ्नो मन्त्रालयबाट समेत राहतको व्यवस्था गरिएको जानकारी दिँदै उनले जिल्लाको समग्र अवस्थाको जानकारी लिएका छन्।

मन्त्री यादव सोमबार बिहानै धनुषाको सबैभन्दा बढी प्रभावित क्षेत्रमा अवलोकनका लागि जाने र त्यस स्थानमा सरोकारवालाका साथै कार्यालय प्रमुख, प्राविधिक र इन्जिनियरलाई उपस्थित हुन निर्देशन दिएका छन्। विपद व्यवस्थापन समितिका तर्फबाट प्रजिअ कणेलले अहिलेसम्मको अवस्थाबारे मन्त्री यादवलाई जानकारी दिएका छन्।

राहत वितरण कार्य एकद्वार प्रणालीबाट हुने र त्यसको लेखा जोखा जिल्ला प्रसाशन कार्यालयसँग रहने बैठकमा जानकारी गराइएको थियो। प्रजिअ कणेलका अनुसार धनुषामा २ जनाको मृत्यु भएको, अन्य जिल्लाबाट १ जनाको शव बगेर आएको र अझै १ जना बेपत्ता रहेको बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्