मुसहर बस्तीमा पुगेन सरकारको नजर ! गर्भवती महिलाको बिचल्ली



जनकपुरधाम : अहिले जनकपुर उपमहानगरपालिका २४ स्थित मुसहर टोलका करिब २० जना गर्भवती महिला बिचल्लीमा छन् ।

शौचालयको समस्या र घर विहीन भएकी एक आठ महिनाकी गर्भवती महिला बविता सदा अहिले सधै भगवानसँग अब त पानी रोकियोस् भन्दै प्रार्थना गर्छिन् । 

खान पकाउन, सुत्न र आफ्नो दैनिक दिनचर्या गर्न समेत कठिनाइ भएपछि अहिले मुसहर टोलका गर्भवती महिला बिचल्लीमा परेका छन् । 

गत बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुवानका कारण उक्त बस्तीमा बसोबास गर्ने मुसहर समुदाय अहिले परिवारको चिन्तामा छन् । वृद्ध, महिला र बालबालिकालाई गाँस, बास र कपासको समस्या झेल्नुपरेको सहजै देख्न सकिन्छ । 

पछिल्लो समय जनकपुर उपमहानगरपालिकामा गाभिएको वडा नम्बर २४ बसाहिया टोलका ५ सयभन्दा बढी मुसहर समुदाय गुठीको जग्गामा करिब १० वर्षदेखि बस्दै आएका छन् । 

आफूहरु गरिब भएकै कारण सरकारको नजर नपरेको गुनासो १७ वर्षीय शैलु सदाको छ । ‘यो वस्तीमा २० जना गर्भवती महिलाहरु छन् । तर, हामीसँग न शौचालय छ न त अहिले बस्नलाई राम्रो ठाउँ नै छ’ उनले गुनासो पोखिन् । अहिले मुसहर समुदायका बालबालिकालाई खान र बस्न समेत समस्या भएको छ । 

संघीय सरकारले ‘जनता आवास’को लागि घर बनाइ दिन भनेर काम सुरु गरेसँगै पानी पर्न थालेपनि बस्ती निर्माणको काम बन्द भएको छ । मुसहरबस्तीमा भएको पुरानो फुसको घर समेत भत्केको छ भने नयाँ घर बन्न सकेको छैन । 

करिब ९० घरधुरी रहेको मुसहर बस्तीमा त्यहाँ तत्कालीन समयमा बसोबास गराउने नरसिंह कुट्टीका मान महन्थले नै अहिले मुद्दा हालेपछि बस्तीका मुसहर परिवारहरुलाई झनै पीडा थपिएको छ । 

६० वर्षीय सत्तन सदा भन्छन्, ‘सुरुमा आफूहरु सित नगद पैसा लिएर नै यहाँ बाबाले बस्न दिए । तर, अहिले आएर मुद्दा हालेपछि अब के होला भनेर चिन्ताले सताएको छ ।’ प्रदेश सरकार र स्थानीय सरकारले घर बनाउन सुरु गरेको भएपनि स्वयं आफूहरुले नै निर्माण कार्यको काम गर्दै आएको वृद्धा सत्तनले भने, ‘पहिला दुई कोठाको पक्की घर बनाइदिने र शौचालयपछि बनाइ दिने भनेर आश्वासन नेताहरुले दिएका छन् ।’

घरको अभावमा अहिले मुसहर टोलका गर्भवती महिलाहरु मध्ये कोही आफन्तको सहारामा बस्दै आएका छन् भने कोही त्यही बस्तीको झुपडीमा आफ्नो गुजरा गर्दै आएका छन् । वर्षाको बेला सर्प आउने गरेकाले बढी डर लागेको चार महिनाकी गर्भवती राधा सदा भन्छिन्, ‘गाउँमा बाढी पसेका कारण रात नसुति बित्छ ।’ 

प्लास्टिकको सहराले बनाइएको एउटा सानो झुपडी र गाई वस्तुसँगै रात बिताउनु पर्दाको पीडाले वयोवृद्धा सेवक सदालाई झन पिरोलेको छ । दुई छोरा र तीन छोरीका साथ एउटै फुसको घरमा कष्टकर जीवन बिताउन बाध्य छन् ७० वर्षीय वयोवृद्ध सेवक सदा । ‘घर बनाउने सरकारी काम भएकोले कहिलेसम्म घर बन्छ थाहा छैन ।’ उनले भने, ‘भएको घरपनि कति खेर भत्किने हो थाहा छैन ।’

राधा, पंची, शैलु, बविता, बीतु लगायत दुई दर्जनभन्दा बढी गर्भवती महिलालाई रातिको समयमा शौचालय जान बाहिर चौरको सहारा लिनु पर्ने हुनाले बढी पीडा हुने गरेको स्वयं महिलाहरुले गुनासो गरे । 

वडा अध्यक्षले आफूहरुको पीडालाई ध्यान नदिएको उनीहरुले बताए । उनीहरुकोे प्रश्न छ, महिला कहाँ जाने र कसलाई आफ्नो कथा सुनाउने ?

जनताले पाउनुपर्ने न्यून आधारभूत आवश्यकता गाँस, बास र कपासको लागि अहिले मुसहर बस्तीका सयौं मुसहर परिवार आशावादी भएर तीन तहका सरकारहरुको मुख हेर्नु बाहेकको अर्को विकल्प के छ र ? 

प्रतिक्रिया दिनुहोस्