बाढी पहिरोपछि जनकपुरको पछिल्लो अवस्था, कहाँ–कहाँ अवरुद्ध छ सडक ?



जनकपुरधाम : चार दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले प्रदेश २ को राजधानी जनकपुरदेखि अन्य गाउँपालिका र नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । राजधानीसँग जोड्ने सानो पुलहरु बाढीले बगाएको छ भने विभिन्न सहायक (भित्री) सडकहरु कटान गर्दा सडक अवरुद्ध भएको हो । 

नयाँ निर्माण भइरहेको धनुषा र महोत्तरीका अधिकांश सडक बाढीले बगाएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख दीपेन्द्र चौधरीले भने, ‘बाढीले बाटो अवरुद्ध भएको छ । सडक बगाएका कारण  थुप्रै स्थानहरुमा प्राविधिक टोली पुग्न सकेको छैन ।’

असार मसान्तको अन्तिम समय भएकोले सम्पन्न गर्नुपर्ने योजनाहरु भुक्तान गर्नुपर्ने भएको बाढीबाट भएको क्षति विवरण सार्वजनिक गर्न समय लाग्ने उनले बताए । 

धनुषादेखि महोत्तरीको सदरमुकाम जोड्ने बाटो बाढीका कारण अवरुद्ध भएको छ भने हुलाकी सडकहरुमा समेत क्षति पुगेको छ । 

महोत्तरीको पिपरा नगरपालिकामा बाढीले बाटो कटान गरेको छ । त्यस्तै धनुषाको पश्चिम महोत्तरी भ्रमरपूरा जाने बाटो अवरुद्ध भएको छ भने पूर्वी क्षेत्र सहीद नगर, सबैला, हंसपुरम कठपुला, औरही जाने बाटो समेत बाटो समेत बाढी, पहिरो र ढुबानका कारण अबरुद्ध भएको छ ।

पौडेस्वरमा जलाद पुल छेउ कटान गरेर बाटो अवरुद्ध भएको छ । धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलका अनुसार बाढी, पहिरोले गर्दा धनुषामा ५० हजार व्यक्ति प्रत्यक्ष प्रभावित भएको बताएका छन् ।  

कहाँ कहाँ अवरुद्ध छ धनुषामा सडकहरु ?

तरहीबाट अड्डाटोल जाने कच्ची सडक अवरुद्ध भएको छ भने भरडियाबाट बौहरवा जाने सडक खण्ड प्रभावित भएको छ । तारापट्टी नजिक बन्दै गरेको पुल मुनि डाईभर्सन मुनिको माटो बागाएको कारण पुलमा क्षति पुगेको छ । यदुकुहाबाट हौवाहि जाने सडक, लक्ष्मीनिया हजरिया सडक खण्ड, सिंगरजोडा सडक खण्ड, जनकपुर–यदुकुहा–बेलही–खरिहानी जाने पक्की सडक ठाउँ–ठाउँमा कटान गरिएको छ । 

त्यस्तै भ्रमरपुरा चौकबाट बसपिट्टी जाने बाटो, पुरणदाहाबाट ललिया जाने बाटो, महेन्द्रनगरबाट उमा प्रेमपुर जाने सडक, जनकपुरदेखी रामगोपालपुर जाने भित्री सडक, जनकपुरदेखी कटैया जाने भित्री सडक, जनकपुरदेखी यददुकुहा जाने भित्री सडक ठाउँ–ठाउँमा भत्केको छ ।

यसैगरी धनुषाको तुलसी गाउँबाट महोत्तरीको जिरे डाडाँ जोड्ने झुलङ्गे पुलमा समेत क्षति पुगेको छ । नेपाल भारत रेल्वेको जनकपुरदेखी जयनगर जाने रेल्वे लिक भासिएको छ । 

सगहराबाट सिरहा जाने हुलाकी राजमार्ग, जनकपुरबाट जटहि जाने बाटो त्यस्तै महेन्द्र नगरबाट महोत्तरीको औरहि जाने भित्री बाटोको बतेश्वर मा निर्माणाधिन पुल अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्