बाढी पीडितमाथि वक्तव्य बाजी, कहिले पुग्छ राहतसहित सरकार ? 



काठमाडौं : गत सातादेखि देशभर मनसुन सक्रिय भयो । गत शनिबारदेखि छिटफुट रुपमा मात्र वर्षा भइरहेको थियो । तर गत बुधबार रातिदेखि फेरी देशभर वर्षा सुरु भयो । मनसुन न्यूनचापिय रेखा नेपालको तराई भूभागमा रहेका कारणले शुक्रबारसम्मै निरन्तर भारी वर्षा भयो ।

तीन दिनसम्म वर्षा हुँदा पूर्वी तराई बाढी, पहिरो र ढुवानको चपेटामा पर्यो । बाढी, पहिरो र ढुवानबाट सोमबार साँझसम्म ६९ जनाको ज्यान गइसकेको छ भने ३१ जना अझै वेपत्ता छन् । त्यस्तै ३८ जना घाइते भएको गृह मन्त्रालयले जनाइएको छ । 

कुन ठाउँमा कतिको मृत्यु ?

सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५-५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३,३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । थप २ जनाको मृत्यु भएको जनाइए पनि ठेगाना खुलेको छैन ।

बाढी पहिरोमा परेका काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१, उदयपुर १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिराहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७०, धादिङमा १७, चितवन १ सय ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर, खोटाङ र डोल्पामा १–१ जना गरी जम्मा १ हजार ४ सय ४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी डोल्पामा ९ जना, सिन्धुलीमा ४ जना, इलाम र मोरङमा ३-३ जना, महोत्तरी र मकवानपुरमा २–२ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा १–१ जना गरी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएकामध्ये १४ महिला र १८ जना पुरुष छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

साथै धनकुटामा ८ जना, मकवानपुरमा ५ जना, ललितपुर र सिराहामा ३,३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १–१ जना गरी जम्मा ३९ जना घाइते भएका छन् । घाइतेमध्ये १८ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको जनाइएको छ ।

जनजीवन ठप्प, सर्पको त्रास

पहिरो–बाढीको कारण बन्द भएका विभिन्न बाटो प्रहरीले सुचारु गराएको छ  । साथै महोत्तरी बर्दिबास नगरपालिका १ र ४ जोड्ने पूर्व पश्चिम राजमार्गस्थित भप्सी खोलाको पुल भासिएपछि निर्मित डाइभर्सनकाट बाटोको निकास गरिए पनि पानीको बहाब बढ्न गई सोमबार बिहानबाट अवरोध भएको छ।

साथै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङगा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोट लगायतका स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी छ ।

यसैगरी बाढी–पहिरो र ढुवान क्षेत्रमा अहिले सर्पको त्रास बढेको छ भने यता सरुवा रोकको बढ्न सक्ने चिकित्सकहरु बताउँछन् । यसबाट वृद्धवृद्धा, गर्भवती महिला, बालबालिका धेरै प्रभावित भएका छन् । 

प्रभावित क्षेत्रमा खाना पकाउन, सुत्न र दैनिक दिनचर्या गर्न समस्या भएको छ । घर ढुवानमा परेपछि गाईबस्तुसित सुतेर रात बिताउन बाध्य छन् पीडित । 

बाढी पीडितमाथि वक्तव्य बाजी

यता सरकारले उद्धार र राहतमा जुट्न आफू मातहका निकायलाई निर्देशन दिएको छ । सरकारका तर्फबाट कुनै प्रतिनिधि प्रभावित क्षेत्रमा पुगेको पाइँदैन । जसको आक्रोश पनि देखिन थालेको छ । सोमबार साझ प्रदेश २ को सप्तरी जिल्लाका बाढी पीडितले मन्त्रीको पुत्ला दहन समेत गरे । 

देशमा यत्रो विपति परेको बेला के राहत र उद्धारमा जुट्न निर्देशन दिँदैमा प्रभावित क्षेत्रको समस्या समाधान हुन्छ ? के पीडितलाई गाँस, बास र कपास यथाशिघ्र व्यवस्था गर्न सरकारको कर्तव्य होइन् ? भन्ने प्रश्न उठेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी तराई डुवानमा परेकोमा आफ्नो मन भारी भएको बताउँदैमा सरकारको कर्तव्य पूरा भएको ठहरिन्छ । आफ्नो मन भारी भएको बताउने प्रधानमन्त्रीले बाढी पीडितलाई उचित राहतको व्यवस्था गर्न ढिलो गरेको सुहाउँछ ?

बोलीमा रमाउने प्रधानमन्त्रीमात्र आरोप लाग्दै आएको छ । प्रधानमन्त्री ओलीले चैत १७ गते बारा–पर्सा हावाहुरीको चपेटामा पर्दा हेलिकप्टरबाट गरिको अवलोकनले त्यसको पुष्ट्याई पनि गरेको छ ।

यसको चौतर्फी विरोध पनि भयो । प्रायः प्रधानमन्त्रीको अभिव्यक्ति बेला–बेलामा विवादमा नआएको होइन् । यो बेलापनि प्रधानमन्त्री विवादमा तानिएका छन् । विशेषत अहिले प्रदेश १, २, ३ बाढी–पहिरोबाट प्रभावित भएको छ । तर, सरकार उद्धार र रातहमा जुट्न निर्देशन दिने कुरामै अल्झिएको देखिन्छ । 

तर सरकार आफै प्रत्येक्ष रुपमा बाढी– पहिलो प्रभावित क्षेत्रमा नपुगे पनि मातहतका निकाय उद्धार र राहत सक्रियताका साथ खटेको दाबी गर्दै आएको छ । पीडितले भने राहातको महसुस गर्ने नपाएको गुनासो गरिरहेका छन् ।  

यस्तै राजनीतिकहरु पनि वक्तव्य बाजीमा उत्रिएका छन् । यद्यपि केही सांसद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफुनो सांसदको पाँच दिनको पारिश्रमिक बाढी पीडितलाई दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्