विपत्तिमा सावधानी अपनाउन मुख्यमन्त्री गुरुङको आग्रह



कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक विपत्तिमा सावधानी अपनाउन आम नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गरेका छन्। सोमबार साँझ एक प्रेस वक्तव्य प्रकाशित गर्दै उनले वर्षायाममा जुनसुकै समयमा पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई ध्यान दिँदै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरे। 

देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण सिर्जित बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति उनले गहिरो दुःख व्यक्त गरे ।

विज्ञप्तिमा मुख्यमन्त्री गुरुङले दुःखको घडीमा बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जलि तथा मृतकका परिवारजनप्रति समवेदना तथा घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । विपद्को घडीमा बेपत्ता भएकाको शीघ्र खोजी, उद्धार र राहतमा जुट्नसमेत उहाँले विज्ञप्तिमार्फत सबैमा आह्वान गरे । 

प्रतिक्रिया दिनुहोस्